बंगलादेशमा मारिएका युवकले धार्मिक भावनामा चोट पार्ने टिप्पणी नगरेको अधिकारीहरूको दाबी


एजेन्सी । बंगलादेशमा एक हिन्दू युवकलाई भीडले निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेको स्तब्ध पार्ने दृश्यले विश्वभरि तरंग पैदा गरेपछि त्यहाँका अधिकारीहरूले धार्मिक भावनामा चोट पुर्याउने गरी ती युवकले कुनै पनि टिप्पणी गरेको प्रत्यक्ष प्रमाण नपाइएको बताएका छन् ।

ईशनिन्दाको आरोपमा मयमनसिंहको भालुकामा आक्रोशित भीडले लत्ताकपडा कारखानामा कार्यरत एक युवा कामदार दिपु चन्द्र दासको कुटपिट गरी हत्या गरेको थियो । मोहम्मद युनुसको शासनकालमा बंगलादेशमा व्याप्त अराजकता र भीडतन्त्रको एउटा ज्वलन्त उदाहरणको रूपमा, उनलाई बाँधेर कुटपिट गरी मारिएको थियो । त्यसपछि हजारौं मानिसहरूले हेरिरहँदा उनको शरीरमा आगो लगाइएको थियो ।

मयमनसिंहस्थित र्यापिड एक्सन बटालियनका कम्पनी कमाण्डर मोहम्मद शम्सुज्जमानले द डेली स्टारलाई बताएअनुसार, मृतकले फेसबुकमा धार्मिक भावनामा चोट पुर्याउने खालको केही लेखेको कुनै प्रमाण भेटिएको छैन ।

यसका साथै, स्थानीय बासिन्दा वा कपडा कारखानाका अन्य कामदारहरूले पनि कुनै ईशनिन्दाजन्य गतिविधि ती युवकले गरेको भनी औंल्याउन नसकेको बताए ।

‘अहिले सबैले आफूले व्यक्तिगत रूपमा उनले (दिपुले) त्यस्तो केही भनेको नसुनेको बताइरहेका छन् । धर्ममा चोट पुर्याउने कुनै कुरा आफैंले सुनेको वा देखेको दाबी गर्ने कोही पनि भेटिएको छैन,’ शम्सुज्जमानले बताए ।

युवा नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा स्थिति अस्थिर बनेको छ । कारखाना जोगाउनका लागि दिपु चन्द्र दासलाई जबरजस्ती कारखानाबाट बाहिर निकालिएको थियो । त्यसपछि उनलाई भीडले लाठी र स्थानीय हतियारले कुटपिट गरी हत्या गर्यो । उनको शवलाई रुखमा झुण्ड्याएर आगो लगाइयो ।

र्यापिड एक्सन बटालियनले शनिबार विभिन्न स्थानमा अपरेशन सञ्चालन गरी दासको हत्याको आरोपमा सातजनालाई पक्राउ गरेको छ । उनीहरू मोहम्मद लिमोन सरकार, मोहम्मद तारेक हुसेन, मोहम्मद मानिक मिया, इर्शाद अली, निजुम उद्दीन, आलमगिर हुसेन र मोहम्मद मिराज हुसेन आकन भएको बताइएको छ ।

मयमनसिंहका अतिरिक्त प्रहरी उपरीक्षक (प्रशासन र वित्त) मोहम्मद अब्दुल्लाह अल मामुनले यस घटनाको सम्बन्धमा मुद्दा दर्ता गरिएको र तीनजनासँग सोधपुछ भइरहेको बताए ।

यस घटनाले बंगलादेशका अल्पसंख्यक र छिमेकी भारत तथा नेपालको राजनीतिक वृत्तमा व्यापक आक्रोश पैदा गरेको छ । त्यसले गत वर्षको विद्यार्थी विद्रोहमा शेख हसिनालाई सत्ताच्युत गरेपछि बंगलादेशमा हिन्दुहरूले सामना गरिरहेको खतरालाई उजागर गरेको छ । युनुस अन्तरिम सरकारको प्रमुखका रूपमा सत्तामा आएदेखि अल्पसंख्यक हिन्दु समुदायलाई लक्षित गरी धेरै आक्रमणहरू भएका छन् ।

बंगलादेशको कम्युनिष्ट पार्टीले गार्मेन्ट कामदारको हत्याको कडा विरोध गरेको छ । बंगलादेश हिन्दु बौद्ध क्रिश्चियन युनिटी काउन्सिलले दासको निर्मम हत्याको कडा निन्दा गर्दै दोषीहरूलाई तुरुन्त पक्राउ गर्न र उदाहरणीय सजायको सुनिश्चितता गर्न माग गरेको छ ।

बंगालदेशको अन्तरिम सरकारले शुक्रबार मयमनसिंह शहरमा हिन्दु पुरुषको हत्याको निन्दा गर्दै नयाँ बंगलादेशमा यस्तो हिंसाको कुनै स्थान नभएको बताएको छ । ‘यस जघन्य अपराधका दोषीहरूलाई छोडिने छैन,’ उसले थप्यो ।