
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कानुन हातमा लिने हर्कत तत्काल बन्द गर्न आग्रह गरेका छन्।
जेनजीको आवरणमा केहि व्यक्ति जलविद्युतमा निःशुल्क सेयर माग्न थालेपछि सामाजिक सञ्जालमा लेख्दै उनले यस्ता हर्कत तत्काल बन्द गर्न आग्रह गरेका हुन्।
नेता ज्ञवालीले उद्यमीहरूको लगानी सुरक्षित गर्न पनि माग गरेका छन्। उनले लेखेका छन्, ʻ१० वर्ष लामो सशस्त्र द्वन्द्व, त्यति नै लामो सङ्क्रमणकाल, विनाशकारी भूकम्प, नाकाबन्दी र कोभिड महामारी आदि चुनौती झेल्दै बिस्तारै तङ्ग्रिन थालेको अर्थतन्त्रलाई यस्ता प्रवृत्तिले घातक असर गर्छन्।ʼ
नेता ज्ञवालीले कुनै पनि नाम, बहाना या सन्दर्भमा यस्ता विषय स्वीकार्य या क्षम्य हुन नसकिने बताए। उनले भने,ʻशान्ति प्रक्रियामा आए लगत्तै एक अवस्थामा वाइसिएलका नाममा व्यवसायीहरूलाई यसै गरी हैरान गरिन्थ्यो।ʼ
जेन–जी र स्थानीयको नाममा जलविद्युत् आयोजनाहरूमा निःशुल्क सेयर, छुट्टै रोयल्टीलगायत माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरू हैरान भएका छन्।
पछिल्लो समय १० प्रतिशत सेयर मागेका ३६ मेगावाटको बलेफी, २२ मेगावाटको मुनलाइट, १.५ मेगावाटको सेवा, १.५ मेगावाटको राइजिङ, १.५ मेगावाटको गाउँघर, ७ मेगावाटको याम्बुलिङ, ४० मेगावाटको बलेफी, ३६ मेगावाटको अपर बलेफी, ४१ मेगावाटको नेसम खोला र ४६ मेगावाटको सीता हाइड्रो छन्।
गत असोजमा भोटेकोशी–१, ब्राह्मायिणीलगायत आयोजनाहरूमा विभिन्न समूहको नाममा निःशुल्क सेयर माग गरी आयोजना निर्माणमा अवरोध गरिएको थियो।








प्रतिक्रिया