बैंकका कर्मचारीलाई कालोमोसो दलेर कुट्ने उपमेयर चौधरी फरार


काठमाडौं । सप्तकोशी नगरपालिकाका उपमेयर रीता कुमारी चौधरी फरार भएकी छन् । ज्योती विकास बैंकका कर्मचारीमाथि कालोमोसो प्रकरणमा संलग्न उपमेयर चौधरी फरार भएकी हुन् ।

चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी प्रहरीको खोजीमा रहेको बताइएको छ। त्यसदिनको घटनामा चौधरी संलग्न भएपछि प्रहरीले खोजी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

मंसिर २५ गते सप्तरीको रुपनी शाखाका कर्मचारी सप्तकोशी नगरपालिका–७ स्थित ‘सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म’ मा पुगेका बैंकका दुई कर्मचारीमाथि जुत्ताको माला लगाएर दुर्व्यवहार गर्नेदेखि गाली गलौजसहित कालोमोसो दलिएको थियो भने असभ्य भाषामा गालीगलौजसहित हातपात भएको थियो ।

यसै प्रकरणमा कालोमोसो दल्ने २ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा ५१ वर्षीय सञ्जीव चौधरी र ४७ वर्षीय उमाकान्त चौधरी रहेका छन् । सप्तरी जिल्ला अदालत राजविराजबाट दिन ५ (पाँच) को म्याद प्राप्त भई अनुसन्धान भइरहेको छ ।

उनीहरूले बैंकका कर्मचारीलाई ऋणको विषयमा कुराकानी गर्न जाँदा उनीहरूले कालोमोसो र जुताको माला लगाएर अभद्र व्यवहार गरेका थिए ।
प्रहरीले अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक र ज्यान मार्ने उधोग कसूरमा उनीहरूलाई थप अनुसन्धान गरिरहेको छ ।

ज्योति विकास बैंकका कर्मचारीहरू एग्रो कम्पनीमा कर्जा असुलीको बारेमा बुझ्न गएका थिए । कर्जा लिई समयमा नबुझाएको कारण बैंकले कर्जा असुलीको प्रक्रियामा जादै गएको थियो । २४ गते ३ बजे बलार्द चौकमा उनीहरूले बैंकका कर्मचारीहरु सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठलाई समाती सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्ममा कालो मोसो दली, जुत्ताको माला लगाई फोटो भिडियो बनाएका थिए ।

साथै सुनित श्रेष्ठको हातमा लगाएको दश आना सुनको औंठी र सुनको सिक्री समेत लुटी कुटपिट गरेको घटना सम्बन्धमा मंसिर २९ गते जाहेरी परेको थियो ।

Skip This