
काठमाडौं । पछिल्ला केही वर्षयता विश्व अर्थतन्त्र धराशायी हुने चेतावनी नियमित रूपमा आउने गरेको छ । तीमध्ये धेरैजसो चेतावनी मन्दी, बैंकिङ संकट, एसेट बबल वा भूराजनीतिक धक्का जस्ता चिरपरिचित जोखिमसँग सम्बन्धित छन् ।
तर, विश्वव्यापी आर्थिक समस्याका खतरनाक क्षणहरू सधैं बजारको नाटकीय पतनबाट सुरु हुँदैनन् । प्रायः तिनीहरू सोभरेन डेट मार्केट्सको भित्री प्रणालीमा सुस्तरी सुरु हुन्छन् । अहिले वास्तविक प्रणालीगत जोखिम त्यहीँ बढिरहेको देखिन्छ ।
परम्परागत मन्दी वा बैंकहरू अचानक डुब्नु चिन्ताको विषय होइन । त्यो भन्दा पनि सोभरेन बोन्ड मार्केटहरुमा, अझ विशेषगरी विश्वव्यापी वित्तीय प्रणालीको आधारका रूपमा रहेको अमेरिकी ट्रेजरीमा, आउन सक्ने अव्यवस्थित समायोजन चिन्ताजनक हो । त्यसमा समस्या आउन थाल्यो भने त्यसका परिणामहरू विश्वव्यापी, तीव्र र राजनीतिक रूपमा व्यवस्थापन गर्न कठिन हुनेछन् ।
सेयर वा क्रिप्टोकरेन्सीभन्दा विपरीत बोन्डहरू भावनाको भरमा मात्र चल्दैनन् । फन्डिङ कन्डिशनहरू कसिलो हुँदा तरलता कम हुन्छ वा वासलातमा दबाब पर्छ । त्यतिबेला बोन्ड मार्केटमा हलचल आउँछ ।
आईसीई बोफा मुभ इन्डेक्स सबैभन्दा स्पष्ट प्रारम्भिक चेतावनी सूचकहरूमध्ये एक हो । यसले अमेरिकी ट्रेजरीका विकल्पहरूमा निहित अस्थिरताको मापन गर्दछ । ऐतिहासिक रूपमा, मुभ सूचकांकमा भएको निरन्तर वृद्धिले ठूला बजार तनावहरूलाई पूर्वसंकेत गरेको छ । त्यसमा सन् २००८ को आर्थिक संकट, सन् २०१३ मा अमेरिकाको फेडले बोन्ड खरिद सम्बन्धी विशाल कार्यक्रमलाई घटाउने संकेत दिएपछिको ‘टेपर ट्यान्ट्रम’, सन् २०२० मार्च महिनामा नगदको हाहाकार (ड्याश फर क्याश) र सन् २०२२ मा बेलायतको नयाँ सरकारले विशाल करछुटको घोषणा गरेपछि बजार आत्तिएर गिल्ट (बेलायतको बोन्ड मार्केट) मा मूल्य घटेर आएको संकटहरू पर्दछन् ।
दक्षिण कोरियाली अर्थशास्त्री ह्युन सङ सिन जस्ता विद्वानहरूले उल्लेख गरेझैं बढ्दो बोन्ड अस्थिरता विरलै मात्र आकस्मिक हुन्छ । यसले वित्तीय प्रणालीको प्लम्बिङ अर्थात् आन्तरिक सञ्जालमा रहेको तनावलाई प्रतिबिम्बित गर्दछ । बोन्डको अस्थिरता बढ्दा त्यसले प्रायः मध्यस्थकर्ताहरू आपूर्ति धान्न वा फन्डिङको जोखिम व्यवस्थापन गर्न संघर्ष गरिरहेको संकेत गर्छ ।
पहिलो र सबैभन्दा महत्त्वपूर्ण कमजोरी अमेरिकी ट्रेजरीमा नै छ । आगामी केही वर्षहरूमा अमेरिकाले ऐतिहासिक रूपमा ठूलो वित्तीय घाटा बेहोर्दै खर्बौं डलरको ऋण लिनु पर्नेछ । कंग्रेसनल बजेट अफिस (सीबीओ) का अनुसार, जनतासँग रहेको अमेरिकी संघीय ऋण (आन्तरिक ऋण) यो दशकभित्र कुल गार्हस्थ्य उत्पादनको १०० प्रतिशत नाघ्ने प्रक्षेपण गरिएको छ ।
त्यहीबेला ब्याज खर्च तीव्र रूपमा बढिरहेको छ । यो संघीय खर्चको सबैभन्दा छिटो बढ्ने घटकहरूमध्ये एक बन्दैछ । यसले खतरनाक चक्र सिर्जना गर्दछ । उच्च प्रतिफलले घाटा बढाउँछ । त्यसले गर्दा थप ऋण जारी गर्नुपर्ने हुन्छ र प्रतिफलमा थप दबाब दिन्छ ।
बजारको संरचना पनि परिवर्तन भएको छ । प्राइमरी डिलरहरू आज सन् २००८ को संकटअघिको तुलनामा कडा पुँजी र लाभका नियमहरू अन्तर्गत काम गर्छन् । त्यसले जोखिम लिने उनीहरूको क्षमतालाई सीमित गर्दछ । कुनै समयमा मागको भरपर्दो स्रोतका रूपमा रहेका विदेशी आधिकारिक खरिदकर्ताहरूले विस्तारै पछि हट्दै गएका छन् जबकि घरेलु लगानीकर्ताहरूले जोखिमको लागि उच्च क्षतिपूर्तिको माग गरिरहेका छन् ।
तनावको प्रमाण देखिन थालिसकेको छ । हाल लामो अवधिका ट्रेजरीको लिलामीहरूले कमजोर माग र मार्केट क्लियर गर्न मूल्यमा सम्झौता गर्नुपर्ने बाध्यतालाई उजागर गरेका छन् । यी तनावपूर्ण मागका क्लासिक संकेतहरू हुन् ।
दोस्रो कमजोरी जापानमा छ । यो अमेरिकी ट्रेजरीको सबैभन्दा ठूलो विदेशी धारक हो र विश्वव्यापी ‘क्यारी ट्रेड’ को मुख्य स्तम्भ हो । दशकौंसम्म जापानको एकदमै कम ब्याजदरले लगानीकर्ताहरूलाई येनमा ऋण लिएर उच्च प्रतिफल दिने विदेशी सम्पत्तिहरू, अझ विशेषगरी अमेरिकी बोन्डहरूमा लगानी गर्न प्रोत्साहित गरेको थियो ।
येन तीव्र रूपमा कमजोर भयो र बैंक अफ जापानले नीति कडा बनाउन वा आफ्नो मुद्राको रक्षा गर्न बाध्य भयो भने ती ‘क्यारी ट्रेड’हरू छिटो उल्टिन सक्छन् । त्यसो हुँदा जापानी लगानीकर्ताहरूले घरेलु सम्पत्ति मात्र नभई विदेशी बोन्डहरू पनि बेच्छन् ।
यस गतिशीलताले संकट उत्पन्न गर्दैन । तर, यसले त्यसलाई बढावा भने दिन्छ । बढ्दो अमेरिकी प्रतिफलले येनलाई कमजोर बनाउँछ । कमजोर येनले जापानी नीतिमा दबाब दिन्छ । कडा जापानी शर्तहरूले ऋण घटाउन बाध्य पार्छ । ऋण घटाउँदा अमेरिकी प्रतिफल अझ उच्च हुन्छ ।
ठ्याक्कै त्यही बेला अमेरिकाको ट्रेजरी बजारलाई स्थिर मागको आवश्यकता हुँदा जापान बाध्यकारी बिक्रीको स्रोत बन्न सक्छ ।
चीनले तेस्रो तर शान्त कमजोरीको प्रतिनिधित्व गर्दछ । चीनको स्थानीय सरकार र घरजग्गा क्षेत्रमा ऋणको समस्या अझै पूर्ण रूपमा समाधान भएको छैन । चिनियाँ अधिकारीहरूले वित्तीय प्रणालीमा पर्याप्त नियन्त्रण कायम गरेको भए पनि कर्जाको तनाव देखिँदा प्रायः युआन कमजोर हुन्छ र पुँजी पलायनलाई प्रोत्साहित गर्दछ ।
कमजोर युआनले सामान्यतया अमेरिकी डलरलाई बलियो बनाउनुका साथै विश्वव्यापी वित्तीय शर्तहरूलाई कसिलो बनाउँछ र अमेरिकी बोन्डको प्रतिफलमा दबाब दिन्छ ।
जापान जस्तै गरी चीन विश्वव्यापी ‘फन्डिङ शक’को मूल कारण बन्ने सम्भावना कम छ । तर, यसले गलत समयमा डलरलाई बलियो बनाएर सुरु भइसकेको तनावलाई झन् तीव्र बनाउन सक्छ ।
यस्तै किसिमको संकट सन् २०२२ मा बेलायतमा देखिएको थियो । त्यो घटना बैंकिङ क्षेत्र धराशायी भएको वा मन्दीको अवस्थाबाट सुरु भएको थिएन । बजेट घोषणाप्रति बोन्ड मार्केटको नकारात्मक प्रतिक्रियाबाट यो संकट सुरु भयो । यसले प्रतिफलमा उछाल, लेभरेज्ड पेन्सन फन्डहरूद्वारा बाध्यकारी बिक्री र अचानक तरलताको स्पाइरल निम्त्यायो ।
बजार सञ्चालन पुनःस्थापना गर्न बैंक अफ इंग्ल्यान्डले आपतकालीन बोन्ड खरिदका साथ हस्तक्षेप गर्नुपर्यो । यसले स्पष्ट पाठ सिकायो । ऋण, तरलता अवरोध र नीतिगत गल्तीहरू एकै ठाउँमा आउँदा विकसित अर्थतन्त्रहरूमा पनि सार्वभौम बोन्ड मार्केटहरू भत्किन सक्छन् ।
अमेरिकाको ट्रेजरी विश्वव्यापी वित्तीय प्रणालीको केन्द्रमा छ । त्यहाँ हुने अव्यवस्थित समायोजन आन्तरिक समस्या मात्र रहनेछैन ।
यस्तो ‘फन्डिङ शक’ भयो भने आर्थिक संकटको अध्ययन गरिरहेकाहरूका लागि नौलो घटनाक्रम हुने छैन । दीर्घकालीन प्रतिफलहरू ह्वात्तै बढ्नेछन्, डलर बलियो हुनेछ, तरलता रहने छैन र जोखिमपूर्ण सम्पत्तिहरू तीव्र गतिमा बिक्री हुनेछन् । अस्थिरता सबै सम्पत्तिका वर्गहरूमा फैलिनेछ ।
यस्तो अवस्थामा केन्द्रीय बैंकको हस्तक्षेप हुनेछ । तरलता प्रवाह, विस्तारित स्वाप लाइन, वासलातका उपकरण र सम्भवतः लक्षित बोन्ड खरिदहरू देखिनेछन् । यस्तै प्रतिक्रियाहरू सन् २००८, २०२० र २०२२ मा देखिएका थिए ।
एकपटक आपतकालीन तरलता इन्जेक्सन गरेपछि वित्तीय प्रणाली सामान्यतया दोस्रो चरणमा प्रवेश गर्दछ । वास्तविक प्रतिफल घट्छ र हार्ड एसेटप्रतिको आकर्षण बढ्छ । ऐतिहासिक रूपमा यस्तो वातावरणमा सुनले राम्रो प्रदर्शन गर्छ । साथै, कमोडिटी र बिटकोइन जस्ता डिजिटल एसेटको प्रदर्शन पनि राम्रो हुन्छ ।
डलर सुरुवाती उछालपछि प्रायः कमजोर हुन्छ किनकि तरलता विस्तार हुन्छ र मुद्रास्फीतिको अपेक्षा बढ्छ । यस अर्थमा, ‘फन्डिङ शक’ले मुद्रास्फीतिको चक्रलाई अन्त्य गर्नुको सट्टा अर्को चरणको लागि बाटो खाली गर्न सक्छ ।
यो जोखिममा ध्यान दिन किन जरुरी छ ?
विश्वले मन्दी व्यवस्थापन गर्न सिकेको छ । तर, अव्यवस्थित ट्रेजरी बजार व्यवस्थापनमा संघर्ष गर्नुपर्ने हुन्छ । ट्रेजरीहरूले धितो दर (मोर्टगेज रेट्स) देखि विश्वव्यापी धितो (कोल्याटरल) शृंखलासम्म सबै कुरालाई ‘एंकर’ गर्ने भएकाले त्यहाँका अवरोधहरू नीति निर्माताहरूले प्रतिक्रिया दिन सक्ने समयभन्दा छिटो फैलिन्छन् ।
अहिले सतहमुनि बनिरहेको जोखिम वास्तविक, संरचनात्मक र विश्वव्यापी छ । यसमा समयमै ध्यान दिनु नै क्षति कम गर्ने एक मात्र उपाय हुन सक्छ ।
नेपालका लागि यसको अर्थ के हो ?
प्रथम दृष्टिमा, अमेरिकाको ट्रेजरी बजार नेपालको दैनिक सरोकारभन्दा टाढा लाग्न सक्छ । नेपालले ठूलो परिमाणमा डलरमा आधारित सार्वभौम बोन्ड जारी गर्दैन । नेपालमा प्रमुख अन्तर्राष्ट्रिय बैंकहरू पनि छैनन् । त्यसका साथै नेपाल विश्वव्यापी पुँजी बजारमा गहिरो रूपमा एकीकृत पनि छैन । तर, त्यसो भन्दैमा नेपाल ट्रेजरी संकटबाट अछुतो नरहने हुँदैन ।
अमेरिकी ट्रेजरीहरूले विश्वव्यापी जोखिममुक्त सम्पत्तिको रूपमा काम गर्छन् । तिनीहरूले विश्वव्यापी रूपमा ब्याजदर, धितो मूल्य र मुद्रा बजारहरूलाई आधार दिन्छन् । ट्रेजरीमा तनाव आउँदा त्यसले जताततै वित्तीय शर्तहरूलाई कठोर बनाउँछ । विशेषगरी विप्रेषण, आयात, पर्यटन र बाह्य लगानीमा निर्भर रहेका देशहरूमा त्यसले असर गर्छ । नेपाल यी सबै मापदण्डहरूमा पर्छ ।
विश्वव्यापी बोन्ड मार्केटका धक्काहरू प्रत्यक्ष जोखिममार्फत नभई विनिमय दर, वस्तुको मूल्य, विप्रेषण प्रवाह, सहायता बजेट र लगानीकर्ताको जोखिम लिने क्षमतामार्फत सर्ने गर्छन् । यी प्रत्येक च्यानलमार्फत नेपाल जोखिममा छ ।
विप्रेषणले नेपालको कुल गार्हस्थ्य उत्पादनको एक चौथाइभन्दा बढी हिस्सा ओगटेको छ । विश्वव्यापी वित्तीय तनावले नेपाललाई दुई तरिकाले जोखिममा पार्छ । पहिलो, कडा विश्वव्यापी वित्तीय शर्तहरूले प्रायः खाडी मुलुक, मलेसिया र विकसित अर्थतन्त्रहरूमा निर्माण, सेवा र उत्पादन क्षेत्रमा रोजगारी गुम्ने वा आप्रवासी कामदारहरूको कमाइ घट्ने अवस्था निम्त्याउँछ । दोस्रो, बलियो अमेरिकी डलर र कसिलो तरलताले श्रम गन्तव्य मुलुकहरूको मुद्रामा दबाब दिन सक्छ । त्यसले त्यहाँ वित्तीय कडाइ वा श्रम बजारमा तनाव निम्त्याउँछ । यसले घरमा पैसा पठाउने नेपाली कामदारहरूको क्षमतालाई प्रत्यक्ष असर गर्छ । विप्रेषणमा अचानक आउने मन्दीले घरायसी उपभोग, बैंक निक्षेप र सरकारी राजस्वलाई एकैसाथ प्रहार गर्नेछ ।
त्यस्तै नेपाल इन्धन, खाद्यान्न र औद्योगिक कच्चा पदार्थका लागि आयातमा अतिनिर्भर छ । विश्वव्यापी ‘फन्डिङ शक’ले सामान्यतया अमेरिकी डलरलाई बलियो बनाउँछ र कमोडिटी मूल्यको अस्थिरता बढाउँछ । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग पेग गरिएको (स्थिर विनिमय दर) हुनाले र भारतीय रुपैयाँ आफैं विश्वव्यापी पुँजी प्रवाहप्रति संवेदनशील भएकाले नेपालले आयातित मुद्रास्फीतिको सामना गर्न सक्छ । उच्च इन्धन र खाद्यान्न मूल्यले नेपालको व्यापार घाटा बढाउनेछ र विदेशी मुद्रा सञ्चितिमा दबाब दिनेछ ।
विश्वव्यापी जोखिमको अवस्थामा मानिसहरूले अनावश्यक खर्च घटाउँछन् । नेपालको अर्थतन्त्रको मुख्य स्तम्भ पर्यटन भएकाले त्यो क्षेत्र प्रभावित हुनेछ । विकसित अर्थतन्त्रहरूमा हुने ‘फन्डिङ शक’ले लामो दूरीको यात्रा घटाउनेछ, लगानी निर्णयहरूमा ढिलाइ गर्नेछ र सेवाहरूको मागलाई कमजोर बनाउनेछ । यसले होटल र एयरलाइन्सलाई मात्र नभई पर्यटनसँग जोडिएको आम्दानीमा निर्भर हजारौं साना व्यवसाय र अनौपचारिक कामदारहरूलाई पनि असर गर्छ ।
विश्वव्यापी बोन्ड मार्केटको धक्काले बाह्य मुलुकले गर्ने विकास लगानीका लागि कडा शर्तहरू, उच्च ऋण लागत र बहुपक्षीय संस्थाहरूद्वारा अधिक सतर्क ऋण प्रवाह निम्त्याउने सम्भावना हुन्छ । आफ्नै देशमा उच्च ब्याज लागतको सामना गरिरहेका दातृराष्ट्रहरूले वैदेशिक सहायता घटाउन वा भुक्तानीमा ढिलाइ गर्न सक्छन् । पूर्वाधार परियोजनाहरू सुस्त हुन सक्छन् । यसरी बाह्य आर्थिक धक्काहरूले विकासको गतिलाई कमजोर बनाउन सक्छन् ।
नेपालको सबैभन्दा गहिरो आर्थिक सम्बन्ध अमेरिकासँग नभई भारतसँग छ । भारतलाई असर गर्ने पुँजी पलायन, मुद्रा दबाब वा उच्च ऋण लागत सहितका कुनै पनि विश्वव्यापी ‘फन्डिङ शक’ ले नेपाललाई पनि प्रभाव पार्नेछ ।
भारतीय लगानीकर्ता र पर्यटकहरूले नेपालको अर्थतन्त्र चलायमान राख्न ठूलो भूमिका खेल्छन् । भारतको वित्तीय प्रणालीमा आउने तनावले ऋणको उपलब्धतालाई घटाउनुका साथै लगानीको मात्रा घटाउनेछ । यसले सीमापार आर्थिक गतिविधिलाई पनि ओझेलमा पार्नेछ ।
नेपालले सम्भावित विश्वव्यापी ‘फन्डिङ शक’ को जोखिमलाई कम गर्नका लागि प्रयास गर्नुपर्छ । नीति निर्माताहरूले विदेशी मुद्रा सञ्चितिको पर्याप्ततालाई प्राथमिकता दिनुपर्छ । त्यस्तै वित्तीय अनुशासन कायम गर्नुपर्छ । आर्थिक विश्वसनीयता कायम राख्दा परिस्थिति प्रतिकूल हुँदाको अवस्थामा समायोजनको लागत कम हुन्छ ।
नेपालले सामाजिक सुरक्षा सञ्जालहरू सुदृढ गर्नुपर्छ । विशेषगरी, विश्वव्यापी मन्दीको सबैभन्दा बढी जोखिममा रहेका विप्रेषणमा निर्भर परिवारहरूका लागि सामाजिक सुरक्षा आवश्यक हुनेछ । विप्रेषण, पर्यटन र आयातमा अत्यधिक निर्भरताले नेपालको अर्थतन्त्रलाई सदैव जोखिममा पारिरहेको छ । निर्यातमा प्रतिस्पर्धात्मकता, ऊर्जामा आत्मनिर्भरता र आन्तरिक उत्पादकत्वमा जोडले विश्वव्यापी ‘फन्डिङ शक’ को जोखिमलाई घटाउन सहयोग गर्नेछन् ।










प्रतिक्रिया