भैरहवाबाट प्लेन चढाएर कतार पठाइयो दुईवटा हात्ती, माउते पनि गए (भिडियो)


काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई छावालाई कतार पठाइएको छ।

प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लगिएका रुद्रकली र खगेन्द्रप्रसादलाई बुधबार कतार पठाइएको हो ।

नेपालबाट दुईवटा हात्ती लैजान आएको कतार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण अवतरण हुन नसकेपछि कलकत्ता डाइभर्ट भएको थियो ।

चार्टर्ड उडान बिहान ११ बजे भैरहवामा अवतरण गर्ने तालिका थियो । डाइभर्ट भएको विमान फर्किएसँगै बुधबार साँझ ५ बजे हात्ती लिएर कतार एयरवेजको कार्गो विमान भैरहवाबाट उडेको छ ।

हात्तीलाई कन्टेनरमा राखिएको थियो । कन्टेनरमा नेपाल र कतारको झण्डा टाँसिएको थियो ।

कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्न यी हात्ती पठाइएको हो।

हात्ती हस्तान्तरणका लागि विमानस्थलमा उपस्थित सरकारी अधिकारी र संरक्षणकर्मीले खगेन्द्रप्रसाद र रुद्रकलीको नयाँ घर सुखद् हुने कामना गरे ।

‘पालेका जनावर उपहार दिँदा मुटु टुक्रिएजस्तो भएको छ,’ वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले भने, ‘छोरी अन्माएजस्तै भयो ।’

रुद्रकली सात र खगेन्द्रप्रसाद ६ वर्षका छावा हुन् । रुद्रकली पूजाकली र खगेन्द्र कोसीकलीको बच्चा हो ।

रुद्रकली र खगेन्द्रको बाबु जंगली हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिए ।

खोरसोरमा रहेका पोथी हात्ती जंगली भाले रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्छन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले नाप गरी हात्ती राख्न खोर निर्माण गरेको थियो । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी लगिएको थियो । त्यहाँबाट कार्गो विमानमा राखी कतार लगिएको हो ।

हात्तीसँगै निकुञ्जका पशु प्राविधिक दिनेश ढकालको नेतृत्वमा हात्तीका दुई माउते पनि कतार प्रस्थान गरेका छन् । उनीहरूले त्यहाँ हात्तीको व्यवस्थापन मिलाएर फर्कनेछन् ।

नेपालले यसअघि विभिन्न मित्रराष्ट्रलाई एकसिंगे गैँडालगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तर्राष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिइँदै आएको छ । आचार्यका अनुसार, पहिलोपटक नेपालले हात्ती उपहारस्वरूप अरू देशमा पठाएको हो ।

नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ गैँडा, १० घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्यांक छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका क्रममा ०७५ मा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । नेपाल सरकारले २०८१ कात्तिक २ गते मन्त्रिपरिषदको निर्णय गरेको थियो।

त्यसपश्चात् कतार सरकारको कूटनीतिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाइएको हो ।

https://www.facebook.com/reel/1872671916954160

Skip This