२ वटा हात्ती लिन कतारबाट नेपाल आएको जहाज कलकत्ता डाइभर्ट


काठमाडौं । नेपालबाट दुईवटा हात्ती लैजान आएको कतार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण कलकत्ता डाइभर्ट भएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराब भएपछि केही समय काठमाडौंको आकाशमा होल्ड् भएको विमान इन्धन सकिन लागेकाले भन्दै कलकत्ता डाइभर्ट भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले क्लिकमान्डुलाई जानकारी दिए ।

मौसममा सुधार आए दिउँसो विमान भैरहवा फर्किने तयारीमा रहेको छ ।

२ पाइलटसहित पाँच जना क्रु मेम्बर रहेको दोहा–भैरहवा–दोहा रुटमा सञ्चालन हुने कार्गो विमानले ३ लाख ४७ हजार ८१४ केजी अधिकतम तौल लिएर टेकअफ गर्न सक्छ ।

नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने निर्णय गरेसँगै चितवनको सौराहाबाट सोमबार भैरहवा पुर्‍याइएको थियो । उपहारस्वरूप प्रदान गरेका ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ हात्ती मंगलबार बिहान भैरहवा पुर्‍याइएको थियो ।