हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, विस्फोटक पदार्थसम्बन्धी मुद्दा


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ गरेको छ । विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर पनि चिनिने उनलाई काठमाडौंको कपनबाट मंगलबार पक्राउ गरी थप अनुसन्धानका लागि पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

सीआईबीका अनुसार लामा पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त हुन् । २०८१ भदौ १४ गते पाँचथरमा भएको बम विस्फोटमा एक बालिकाको मृत्यु हुनुका साथै दुई जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

यसअघि पनि लामा २०६८ सालमा काठमाडौंको बबरमहलमा तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए । उक्त घटनामा अनुसन्धानपछि अभियोजन भएका लामाले नख्खु कारागारमा कैद सजाय भुक्तान गरेका थिए । उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा जेलमुक्त भएका थिए।

त्यसैगरी २०६९ साल असारमा पाँचथरको भुसपातेबाट विस्फोटक पदार्थसहित पक्राउ परेका लामालाई प्रहरीले काठमाडौं ल्याएर अनुसन्धान गरेको थियो । हाल पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको भेटिएपछि सीआईबीले उनलाई पक्राउ गरी पाँचथर पठाएको जनाएको छ।