
काठमाडौं । ग्लोबल हेल्प फाउन्डेसनको आयोजना तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को संयोजनमा क्यानाडामा अन्तर्राष्ट्रिय नेतृत्व र विकास सम्मेलन आगामी वर्ष २०८३ जेठ १० गतेदेखि १९ गतेसम्म आयोजना हुँदैछ । सम्मेलनमा प्रधानाध्यापक, सदस्य र व्यवस्थापन तहका शिक्षकहरूले सहभागी भई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर पाउने प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले क्यानाडाका विद्यालयहरू भ्रमण गर्दै आधुनिक शिक्षण प्रणाली, प्रविधिको प्रयोग र प्रभावकारी कक्षाको सञ्चालन प्रत्यक्ष अवलोकन गर्नेछन् । यसले नेपाली शिक्षकहरूको पेशागत क्षमता बढाउने र शिक्षाको गुणस्तर सुधार्न योगदान पुग्ने प्याब्सनको विश्वास छ ।
सम्मेलनमा मुख्य सत्र, कार्यशाला र प्यानल छलफल आयोजना हुनेछन्। सहभागीहरूले आधुनिक पाठशिक्षा पद्धति, प्रविधिको समावेशीकरण र कक्षाको सञ्चालनबारे विस्तृत प्रशिक्षण पाउनेछन् । साथै, क्यानाडेली शिक्षकहरूसँग विचार साटासाट गर्ने अवसरले अन्तर्राष्ट्रिय समझदारी र नेटवर्किङमा पनि सहयोग पुग्ने प्याब्सनका महासचिव कटवालले बताए ।
प्याब्सनका अनुसार अधिकांश सहभागीताका सिट भरिसकेको र केही सिमित सिटहरू अझै उपलब्ध रहेका छन् ।
प्याब्सनले यस सम्मेलनलाई नेपाली शिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अवसरको रूपमा प्रस्तुत गरेको छ । सहभागीहरूले व्यावहारिक शिक्षण रणनीति सिक्ने, नेतृत्व क्षमता विकास गर्ने र अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्ने अवसर पाउने अपेक्षा राखिएको छ ।







प्रतिक्रिया