
काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीहरूले आफूमाथि अभद्र व्यवहार तथा कालोमोसो दलेको र बेइज्जती गरेको भन्दै प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।
ऋण असुलीका लागि मंसिर २५ गते सप्तरीको रुपनी शाखाका कर्मचारी सप्तकोशी नगरपालिकाको ७ स्थित ऋणीकहाँ पुगेका थिए । बैंकका कर्मचारी आएपछि ऋणीले स्थानीयलाई भेला गरेर कालोमोसो दल्ने, कुटपिट तथा दुर्व्यवहार गर्ने गरेका थिए । जसको भिडियो पनि सार्वजनिक भएको छ ।
आफूहरूमाथि दुर्व्यबहार भएको भन्दै पीडित कर्मचारी प्रहरी कार्यालय पुगे पनि जाहेरी दर्ता हुन सकेको थिएन । प्रहरीले रित नपुगेको भन्दै उनीहरूलाई फर्काउनु परेको र अहिले रित पुर्याएर कर्मचारीहरू निवेदन दिन आउने तयारीमा रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डम्बरबहादुर पुरीले बैंकका कर्मचारीले निवेदन दर्ता गर्ने तयारी गरेको क्लिकमान्डुलाई जानकारी दिए।
‘कुटपिट तथा कालोमोसो दलेका दिन बैंकका कर्मचारी आएका थिए । रितबमोजिम निवेदन नपुगेकाले उनीहरू फर्किएका हुन्,’ पुरीले भने, ‘कार्यालयमा सल्लाह गरेर कर्मचारीहरू आज पुनः निवेदन लिएर आउने भएका छन् । त्यसपछि उक्त निवेदन दर्ता हुने छ ।’
बैंकका कर्मचारीमाथि ऋण असुलीमा गएको समयमा दुर्व्यवहार भएपछि आइतबार नेपाल बैंकर संघका उपाध्यक्ष एवं ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी गभर्नर विश्वनाथ पौडेललाई भेट्न पुगेका थिए ।
उनले बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारबारे गभर्नरलाई जानकारी गराए । त्यसपछि गभर्नर पौडेलले त्यहीँबाट गृहमन्त्री ओमप्रकाश अर्याललाई फोन गरि घटनाबारे जानकारी गराउँदै कारबाहीको माग गरेका थिए।
जवाफमा गृहमन्त्री अर्यालले दुर्व्यवहार गर्नेमाथि कानुन अनुसार कडा कारबाही हुने आश्वासन दिएका थिए । त्यसपछि प्रहरीले बैंकका कर्मचारीको उजुरी दर्ता गर्न लागेको स्रोतको भनाइ छ ।
जाहेरी परेपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने जनाएको छ ।
ऋणी असुलीका लागि पुगेका कर्मचारीमाथि कालोमोसो दल्ने र दुर्व्यबहार गरेकोबारेको समाचार क्लिकमान्डुमा प्रकाशन भएको थियो ।







प्रतिक्रिया