होटल र्‍याडिसनले तीन महिनामा गर्‍यो २२ करोडको व्यापार, ६० कोठाको पुनर्निर्माण गर्ने

49
Shares

काठमाडौं । लाजिमपाटमा रहेको होटल र्‍याडिसनले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमै २२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

ओरियन्टल होटलद्वारा सञ्चालित पाँचतारे होटल र्‍याडिसनले गत आवमा १ अर्ब ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो।

गत आवमा होटलको अकुपेन्सी भने घटेको पाइएको छ ।

सन् २०२४ मा ४३ प्रतिशत अकुपेन्सी रहेको होटलमा गत आवमा ३७ प्रतिशत मात्रै अकुपेन्सीमा सञ्चालनमा भएको थियो ।

साथै, होटलको प्रतिकोठाको मूल्य पनि घटेको थियो । सन् २०२४ मा प्रतिकोठाको मूल्य १० हजार ७३ रुपैयाँ रहेकोमा गत आवमा ९ हजार ४ सय २२ रुपैयाँ तोकेको थियो ।

होटलले चरणबद्ध कोठाको पुनर्निर्माणको कार्य अगाडि बढाएको छ । कम्पनीले सन् २०२३ को जुलाईमा ४० वटा कोठाको पुनर्निर्माण कार्य सम्पन्न गरेको थियो । त्यसैगरी, कम्पनीले चालु आवसम्ममा थप ६० वटा कोठाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ ।

कम्पनीले सन् २०२४ मा १ अर्ब १९ करोड रुपैयाँ र सन् २०२३ मा १ अर्ब ११ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९४ मा स्थापना भएको कम्पनी सन् १९९९ मा पब्लिक कम्पनी‍मा परिणत भएको थियो । होटलमा २ सय ६० वटा कोठाको सुविधा छ । होटल १.६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

कम्पनीले हालै मात्रै ३० वटा युनिटको सेवा दिने उद्देश्यसहित अपार्टमेन्ट निर्माण कार्य सम्पन्न गरेको छ । कम्पनीले उक्त अपार्टमेन्ट सन् २०२५ को जुलाईबाट सञ्चालनमा ल्याएको थियो ।

होटल र्‍याडिसन ग्रुप अफ होटलको फ्रेन्चाइज हो । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८० करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५५ करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २५ करोड २० लाख रुपैयाँको रेटिङ गराएको हो ।

रेटिङ एजेन्सीले कम्पनीको कारोबार बढेसँगै ‘वाच विथ नेगेटिभ इम्प्लिकेशन’ बाट हटाइएको छ । रेटिङकाअनुसार कम्पनीको पर्यटन आगमनमा रिबाउन्ड भएकाले वाच विथ नेगेटिभ इम्प्लिकेशनबाट हटाइएको हो ।