डीएफएसके ब्रान्डको स्पेयर पार्टस्‌ बेच्ने कम्पनीले गर्‍यो सवा १ अर्बको व्यापार

49
Shares

काठमाडौं । डीएफएसके ब्रान्डको स्पेयर पार्टस्को आधिकारिक एजेन्ट एनइभी नेपालले एकै वर्ष सवा १ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२४ मा ८९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ४८ करोड रुपैयाँ, सन् २०२२ मा ३२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीकाअनुसार गत आवमा ४० प्रतिशतले व्यापार बढेको छ । कम्पनीको व्यापार गत आवमा बढे पनि नाफा भने घटेको पाइएको छ ।

कम्पनीले सन् २०२४ मा ५.३३ प्रतिशत नाफा कमाएको थियो । गत आवमा कम्पनीले ४.४१ प्रतिशत मात्रै नाफा कमाएको छ ।

सन् २०१९ मा स्थापना भएको कम्पनी बिक्री एजेन्टको रुपमा नेपालमा व्यापार गर्दै आएको छ । कम्पनी चोङकोङ सोको मोटर इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनीको सेवा प्रदायक कम्पनी हो । कम्पनीले डीएफएसके ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

राजन रायमाझीको ४६ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ४० करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८९ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको हो ।