
एजेन्सी । अमेरिकाले पाकिस्तानको एफ–१६ लडाकु विमानहरूका लागि ६८ करोड ६० लाख डलर बराबरको उन्नत प्रविधि र सहयोग बिक्री गर्न स्वीकृति दिएको छ । सोमबार अमेरिकी रक्षा सुरक्षा सहयोग एजेन्सी (डीएससीए) ले संसद्लाई पठाएको पत्रमा त्यसको उल्लेख छ ।
यस प्याकेजमा लिंक–१६ प्रणाली, क्रिप्टोग्राफिक उपकरण, एभियोनिक्स अपडेट, तालिम र व्यापक लजिस्टिक (बन्दोबस्ती) सहयोग समावेश छन् ।
बिक्रीको औचित्य स्पष्ट पार्दै यसले पाकिस्तानलाई जारी प्रतिआतंकवाद प्रयास र भविष्यका आकस्मिक अपरेसनहरूमा अमेरिकी र साझेदार सेनाहरूसँग अन्तर–सञ्चालन क्षमता कायम राख्न अनुमति दिएर अमेरिकाको विदेशनीति र राष्ट्रिय सुरक्षा उद्देश्यहरूलाई समर्थन गर्ने डीएससीएको पत्रमा उल्लेख छ ।
पाकिस्तानको एफ–१६ फ्लीटलाई आधुनिकीकरण गर्ने र सञ्चालन सुरक्षा सम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्ने पनि यो प्रस्तावित बिक्रीको उद्देश्य हो । यसले ब्लक–५२ र मिड लाइफ अपग्रेड एफ–१६ फ्लीटलाई अद्यावधिक र मर्मत गरेर वर्तमान र भविष्यका खतराहरू सामना गर्ने पाकिस्तानको क्षमतालाई कायम राख्ने पत्रमा लेखिएको छ ।
‘यी अपडेटहरूले लडाइँ, अभ्यास र प्रशिक्षणमा पाकिस्तानी वायुसेना र अमेरिकी वायुसेनाबीच अझ सहज एकीकरण र अन्तर–सञ्चालन प्रदान गर्नेछन् । मर्मतसम्भारले गम्भीर उडान सुरक्षा चिन्ताहरूलाई सम्बोधन गर्दै विमानको आयु सन् २०४० सम्म लम्ब्याउनेछ,’ पत्रमा थपिएको छ ।
पत्रले प्रविधि ग्रहण गर्न पाकिस्तानको तत्परतामा पनि जोड दिएको छ । ‘पाकिस्तानले आफ्नो सैन्यबललाई चुस्तदुरुस्त राख्ने प्रतिबद्धता देखाएको छ र यी सामग्री तथा सेवाहरूलाई आफ्नो सशस्त्र बलमा समावेश गर्न कुनै कठिनाइ हुनेछैन,’ त्यसमा भनिएको छ ।
पत्रले क्षेत्रीय सन्तुलनको चिन्तालाई सम्बोधन गर्दै उपकरण र सहयोगको यो प्रस्तावित बिक्रीले क्षेत्रको आधारभूत सैन्य सन्तुलनमा परिवर्तन नल्याउने दाबी गरेको छ ।
टेक्ससको फोर्ट वर्थस्थित लकहीड मार्टिन कम्पनी यस बिक्रीको मुख्य ठेकेदार हुनेछ । यस प्रस्तावित बिक्रीको कार्यान्वयनका लागि पाकिस्तानमा कुनै थप अमेरिकी सरकारी वा ठेकेदार प्रतिनिधिहरू खटाउनुपर्ने छैन र यस बिक्रीको नतिजास्वरूप अमेरिकी रक्षा तयारीमा कुनै प्रतिकूल प्रभाव पर्ने छैन भनी अमेरिकी रक्षा एजेन्सीले औंल्याएको छ ।
बिक्रीको कुल अनुमानित मूल्य ६८ करोड ६० लाख डलर छ । त्यसमध्ये मुख्य रक्षा उपकरणको मूल्य ३ करोड ७० लाख डलर र अन्य वस्तुहरूको मूल्य ६४ करोड ९० लाख डलर रहेको छ ।
मुख्य रक्षा उपकरणमा ९२ वटा लिंक–१६ डेटा लिंक प्रणाली र ६ वटा निष्क्रिय (इनर्ट) एमके–८२ ५००–पाउन्ड जनरल पर्पस बम बडीहरू समावेश छन् । पछिल्लोमा कुनै विस्फोटक पदार्थ हुनेछैन र यसलाई हतियार एकीकरण परीक्षणका लागि प्रयोग गरिनेछ ।
लिंक–१६ एक उन्नत कमान्ड, कन्ट्रोल, सञ्चार र गुप्तचर प्रणाली हो । यो एक सुरक्षित, रियल–टाइम सञ्चार नेटवर्क हो जसले मित्र शक्तिहरूबीच रणनीतिक डेटा साझा गर्दछ र यसलाई अमेरिकी तथा नेटो सेनाहरूले प्रयोग गर्छन् । यो प्रणाली शत्रुको हवाई र जमिनका विद्युतीय जामिङ प्रतिरोधी पनि छ ।
‘यसले लडाकुहरूलाई निगरानी, पहिचान, हवाई नियन्त्रण, हतियार इन्गेजमेन्ट समन्वय र सबै सेवा तथा मित्र शक्तिहरूका लागि निर्देशन जस्ता मुख्य थिएटर कार्यहरू प्रदान गर्दछ,’ पत्रमा भनिएको छ ।
सम्झौताको बाँकी हिस्सा ६४ करोड ९० लाख डलर बराबरको गैर–एमडीई उपकरणहरू रहेका छन् । त्यसमा एएन/एपीएक्स १२६ एडभान्स्ड आइडेन्टिफिकेशन फ्रेन्ड अर फो प्रणाली समावेश छन् जुन शत्रु र मित्र विमान पहिचान गर्न प्रयोग गरिन्छ ।







प्रतिक्रिया