पाकिस्तानले बनाउने क्षेत्रीय संरचनामा जोडिन बंगलादेश तयार, नेपाल र भुटान अनिच्छुक

378
Shares

एजेन्सी । भारतलाई बाहिर राखेर पाकिस्तानले बनाएको क्षेत्रीय संरचनामा सामेल हुन रणनीतिक रूपमा सम्भव रहेको बंगलादेशका एक उच्च अधिकारीले बुधबार बताएका छन् ।

सरकारी समाचार संस्था बंगलादेश संवाद संस्थाले बंगलादेश सरकारका परराष्ट्र सल्लाहकार मोहम्मद तौहिद हुसेनलाई उद्धृत गर्दै लेखेको छ, ‘हाम्रा लागि रणनीतिक रूपमा यो सम्भव छ… (तर) नेपाल वा भुटानका लागि भारतलाई बाहिर राखेर पाकिस्तानसँग कुनै समूह बनाउन सम्भव छैन ।’

उनको यो टिप्पणीलाई हालैको इस्लामाबाद कन्क्लेभमा पाकिस्तानका विदेशमन्त्री इसाक दारले दिएको अभिव्यक्तिको जवाफका रूपमा व्याख्या गरिँदैछ । दारले बंगलादेश, चीन र पाकिस्तान सम्मिलित त्रिपक्षीय पहल सुरु भइसकेको र यसमा दक्षिण एसियाली क्षेत्रभित्र तथा बाहिरका अन्य देशहरूलाई समेट्न सकिने बताएका थिए ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार, दारले केही कुरा भनेको र शायद भविष्यमा यसले केही प्रगति गर्न सक्ने हुसेनले बताएका छन् ।

अगस्ट महिनामा पाकिस्तानका विदेशमन्त्री दारले १३ वर्षमा पहिलोपटक बंगलादेशको भ्रमण गरेका थिए ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसबीच पनि हालैका महिनाहरूमा केही सौहार्द्रपूर्ण भेटघाटहरू भएका छन् ।

गत वर्षको अगस्ट महिनामा भएको जनआन्दोलनले शेख हसिनाको सरकार ढालेपछि दुई राष्ट्रबीच चिसिएको सम्बन्धमा सुधार आउन थालेको छ ।