भारत आउँदै मेस्सी, सँगै फोटो खिच्न १० लाख तिर्नुपर्ने

707
Shares

एजेन्सी । फुटबलका सुपरस्टार खेलाडी लियोनल मेस्सी एक हाई–प्रोफाइल खेलकुद कार्यक्रमका लागि शनिबार भारत आउँदैछन् ।

मेस्सीका प्रशंसकहरूका लागि यो अवसर निकै महँगो मूल्यमा आएको छ । रिपोर्टहरूका अनुसार, ‘द गोट इन्डिया टुर’ का आयोजकहरूले मेस्सीसँग एउटा तस्बिर खिचाउन ९ लाख ९५ हजार भारु र जीएसटी लाग्ने घोषणा गरेका छन् ।

यसका लागि १०० वटा विशेष स्लटहरू मात्र उपलब्ध छन् । यो विशेष भेटघाट हैदराबादको प्रसिद्ध फलकनुमा प्यालेसमा हुनेछ । डिस्ट्रिक्ट एपमा यसको बुकिङ खुला गरिएको छ ।

मेस्सी दिउँसो ४ बजे हैदराबाद आइपुग्ने र त्यसपछि साँझ ७ बजेदेखि उप्पल रंगशालामा सुरु हुने तीन घण्टाको भव्य कार्यक्रममा जाने तालिका छ । उनीसँगै विश्वकप विजेता टिमका साथी रोड्रिगो डी पल र लामो समयदेखिका स्ट्राइकर साथी लुइस सुआरेज पनि सहभागी हुनेछन् ।

रंगशालाको कार्यक्रम ‘सिंगारेनी आरआर–९’ र ‘अपर्णा मेसी अल स्टार्स’ बीचको २० मिनेटको प्रदर्शनी खेलबाट सुरु हुनेछ ।

औपचारिक प्रशिक्षण नपाएका १० प्रतिभावान युवासहित १५ बालबालिकाले यसमा सहभागी हुने मौका पाउनेछन् । तेलांगनाका मुख्यमन्त्री रेवन्त रेड्डी अन्तिम पाँच मिनेटमा खेलमा सहभागी हुनेछन् ।

युनिसेफका सद्भावना दूतसमेत रहेका मेसीले सञ्चालन गर्ने फुटबल क्लिनिक कार्यक्रमको मुख्य आकर्षण हुनेछ । बालबालिकाहरूले मेसी, डी पल र सुआरेजबाट प्रत्यक्ष प्रशिक्षण तथा मार्गदर्शन पाउनेछन् ।

यी स्टार खेलाडीहरू विशेष पेनाल्टी सुटआउटमा पनि सहभागी हुनेछन् । कार्यक्रमको अन्त्यमा मुख्यमन्त्रीले मेस्सीलाई सम्मान गर्नेछन् ।

‘द गोट टुर हैदराबाद’ की सल्लाहकार पार्वती रेड्डीका अनुसार, रंगशाला कार्यक्रमका लागि सबै श्रेणीका टिकटहरू डिस्ट्रिक्ट एपमा उपलब्ध छन् । उनले कार्यक्रममा कुनै पनि क्रिकेटरलाई निमन्त्रणा नगरिएको र साँझ सांगीतिक कार्यक्रम पनि हुने पुष्टि गरेकी छन् ।

मेस्सी करिब एक घण्टा रंगशालामा बस्ने अपेक्षा गरिएको छ । उनी आइतबार मुम्बई प्रस्थान गर्नुअघि त्यो रात हैदराबादमै बिताउनेछन् ।

रेड्डीले हैदराबादको कार्यक्रम युवा खेलाडीहरूलाई प्रेरित गर्ने उद्देश्यले फुटबल क्लिनिकमा केन्द्रित हुने कुरामा जोड दिइन् । ‘मेसी, रोड्रिगो र लुइस सुआरेजले बालबालिकालाई प्रशिक्षण दिनेछन् र सुझावहरू दिनेछन् । क्लिनिक नै यस कार्यक्रमको मुख्य भाग हो,’ उनले भनिन् ।

मेसीले भारत भ्रमणका क्रममा चार प्रमुख शहरहरू कोलकाता, हैदराबाद, मुम्बई र दिल्ली पुग्नेछन् । भारतभरिका प्रशंसकहरूलाई फुटबलका महान् खेलाडीमध्ये एकलाई नजिकबाट हेर्ने दुर्लभ अवसर प्रदान गर्नेछ ।