
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले धनी विदेशी व्यक्तिहरूलाई १० लाख डलर (करिब १४ करोड रुपैयाँ) मा गोल्डन भिसा किन्न अनुमति दिने नयाँ कार्यक्रम सुरु गरेका छन् ।
साथै, ५० लाख डलर पर्ने प्लेटिनम संस्करण ल्याउने संकेत पनि उनले गरेका छन् ।
‘सबै योग्य र जाँचपास भएका मानिसहरूका लागि नागरिकताको सिधा बाटो । अत्यन्तै उत्साहजनक ! हाम्रा महान् अमेरिकी कम्पनीहरूले अन्ततः आफ्ना अमूल्य प्रतिभालाई आफैंसँग राख्न सक्नेछन्,’ ट्रम्पले बुधबार सामाजिक सञ्जालमा लेखे ।
एक आधिकारिक सरकारी वेबपेजमा नयाँ ट्रम्प गोल्ड कार्डमार्फत कीर्तिमानी समयमा अमेरिकी बसोबासको अनुमति दिने वाचा गरेको छ । त्यसका लागि निवेदकहरूले डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्युरिटी (डीएचएस) लाई १५ हजार डलर प्रक्रिया शुल्कका रूपमा बुझाउनुपर्नेछ, पृष्ठभूमि जाँच पास गर्नुपर्नेछ र १० लाख डलर तिर्नुपर्नेछ ।
सेप्टेम्बर महिनामा जारी भएको कार्यकारी आदेश अनुसार, इच्छुक व्यक्तिहरूले १० लाख डलर तिर्नुपर्नेछ भने कर्मचारी प्रायोजन गर्ने व्यवसायहरूले २० लाख डलर तिर्नुपर्नेछ । त्यसपछि कम्पनीहरूले वार्षिक २० हजार डलर (१ प्रतिशत) मर्मत शुल्क र एक कर्मचारीबाट अर्कोमा भिसा सार्न चाहेको खण्डमा हरेक पटक १ लाख डलर (५ प्रतिशत) हस्तान्तरण शुल्क तिर्नुपर्नेछ ।
ट्रम्प प्रशासनले लाखौं कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्न ठूलो स्रोतसाधन लगाइरहेको बेलामा यो कार्यक्रम आएको हो । मेहनती गरिबहरूका लागि शरण दिने मुलुकमा रूपमा रहेको अमेरिकाको परम्परागत छविसँग विरोधाभासपूर्ण देखिएको भन्दै गोल्ड कार्ड कार्यक्रमले यसअघि नै कडा आलोचना खेपिसकेको छ ।
आधिकारिक वेबसाइटका अनुसार, ट्रम्प प्लेटिनम कार्ड पनि चाँडै आउँदैछ । यस कार्डले धारकहरूलाई अमेरिका बाहिरको आम्दानीमा अमेरिकी कर नतिरी २७० दिनसम्म अमेरिकामा बिताउन अनुमति दिनेछ । यसको मूल्य ५० लाख डलर पर्नेछ ।
ट्रम्पका अनुसार, नयाँ कार्यक्रमबाट प्राप्त रकम देशका लागि सकारात्मक काम गर्न सकिने खातामा जानेछ र यसले अर्बाैं डलर जम्मा गर्नेछ ।
ट्रम्पले सेप्टेम्बर महिनामा एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै गोल्ड कार्डको आधिकारिक आरम्भको घोषणा गरेका थिए । फेब्रुअरी महिनामा यस कार्यक्रमबारे पहिलोपटक समाचार आउँदा भिसाको मूल्य ५० लाख डलर थियो । घटाइएको मूल्यले अन्य देशहरूमा रहेका यस्तै पैसा तिरेर लाइन मिच्ने वा प्रक्रिया छोट्याउने कार्यक्रमहरूको तुलनामा यसलाई प्रतिस्पर्धी बनाउन सक्छ ।
उदाहरणका लागि, न्युजील्यान्डको नयाँ गोल्डेन भिसा कार्यक्रमको मूल्य झन्डै ३० लाख अमेरिकी डलर पर्छ । ट्रम्प पुनः निर्वाचित भएपछि यसले धनी अमेरिकीहरूबाट बलियो चासो आकर्षित गर्न सफल भएको थियो ।
‘मूलतः हामी सफल मानिसहरूलाई भित्र्याउँदैछौं,’ राष्ट्रपतिले सेप्टेम्बर महिनामा भनेका थिए, ‘उनीहरू भित्र आउनका लागि धेरै पैसा खर्च गर्नेछन् । सीमा पार गरेर हिँड्दै आउनुको सट्टा उनीहरूले पैसा तिर्नेछन् ।’
डीएचएसकी सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा कार्यक्रमको प्रशंसा गर्दै भनिन्, ‘यस ऐतिहासिक पहल अन्तर्गत क्रमशः १० लाख र २० लाख डलर योगदान गर्ने योग्य व्यक्ति तथा कम्पनीहरूले कडा जाँचबुझपछि द्रुत गतिमा ईबी–१ वा ईबी–२ ग्रीन कार्ड प्राप्त गर्नेछन् ।’







प्रतिक्रिया