
काठमाडौं । नेपाली बजारमा महिन्द्रा ब्रान्डको सवारी साधन बेच्ने अग्नि इन्कर्पोरेटेड प्रालिको व्यापार २८ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २८ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा ५ अर्ब ५५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ७ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ५ अर्ब १४ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १२ अर्ब ९३ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १२ अर्ब ८ करोड रुपैयाँको कारोबार गरेको थियो ।
सन् १९९१ मा स्थापना भएको कम्पनी महिन्द्रा ब्रान्डको सवारी साधन बेच्ने आधिकारिक बिक्रेता हो । कम्पनीले यात्रुवाहक सवारी साधन र ट्रयाक्टर सेग्मेन्टको बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले गत आवमा गरेको व्यापारमध्ये व्यावसायिक सवारी साधनबाट बढी कारोबार भएको पाइएको छ । कम्पनीको व्यापार दुई वटा मोडल स्कार्पियो र बोलेरोमा निर्भर रहेको छ । कम्पनीले गत आवमा उक्त सवारी साधनबाट मात्रै ९० प्रतिशत व्यापार भएको जनाएको छ । त्यस्तै, कम्पनीको व्यावसायिक सवारी साधनमा विशेष गरी पिकअप र ट्रयाक्टर सेग्मेन्टको व्यापार ६५ प्रतिशतले वृद्धि भएको रेटिङमा उल्लेख छ ।
कम्पनीको गत आवमा सिमित मात्रामा मात्रै विद्युतीय सवारी साधन थियो । त्यसैगरी, कम्पनीले हालै मात्रै नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गरेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब २६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३५ करोड रुपैयाँ र अल्पकालिन कर्जाका लागि २ अर्ब ९१ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।
क्याबिनेट श्रेष्ठ, सुसन वैद्य र अर्जुनप्रसाद शर्माको स्वामित्व रहेको कम्पनीको देशभर १७ वटा शोरुम छन् भने १६ वटा प्रादेशिक डिलरसिप शाखा छन् ।







प्रतिक्रिया