कोरोनाका कारण ७ अर्बले घटेको महिन्द्राको व्यापार करिब ३ अर्बले बढ्यो



काठमाडौं । कोभिडका कारण करिब ७ अर्बले घटेको महिन्द्रा गाडीको व्यापारले फेरि गति लिएको छ ।

कोरोना महामारी शुरु हुनुभन्दा अघि वार्षिक १६ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरिरहेको कम्पनीले कोरोना महामारीको समय अर्थात् सन् २०२० मा करिब साढे ९ अर्ब रुपैयाँमा सीमित भएको थियो । जुन ४२ प्रतिशतले कम हो ।

सन् २०१८ मा महिन्द्रा गाडीको व्यापार १६ अर्ब २५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०१९ मा महिन्द्रले आफ्नो व्यापार बढाउँदै १६ अर्ब ३५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

तर, सन् २०२० मा विश्वव्यापीरुपमा फैलिएको कोरोनाले महिन्द्रको व्यापार करिब ७ अर्बले घटेर ९ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको थियो । जुन सन् २०१९ को तुलनामा ४२ प्रतिशतले कम हो ।

कोरोनाकै समय भएपनि सन् २०२१ मा महिन्द्राको व्यापार भने बढेको देखिन्छ । कम्पनीले गत वर्ष १२ अर्ब १ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । जुन सन् २०२० को तुलनामा २ अर्ब ५१ करोड ७० लाख रुपैयाँ अर्थात् करिब २७ प्रतिशतले बढी हो । कम्पनीले कुल व्यापारमा स्कोरपियो र बोलेरोको हिस्सा ९० प्रतिशत छ ।

कम्पनीका अनुसार सन् २०२१ मा कमर्सियल भेहिकलमा विशेष गरी पिकअप भ्यान र ट्रयाक्टरको व्यापार ५६ प्रतिशतले बढेको छ । साथै, सोही अवधिमा प्यासेन्जर भेहिकलको व्यापार भने सन् २०२० को तुलनामा २१ प्रतिशतले घटेको छ ।

जसले गर्दा कम्पनीको कुल आम्दानीमा कमर्सियल भेहिकलको हिस्सा ७६ प्रतिशत रह्यो भने बाँकी २४ प्रतिशत हिस्सा प्यासेन्जर भेहिकलको रहेको छ ।

कम्पनीले भारतबाट आयात गरी बिक्री गर्दै आएको निजी गाडीको व्यापार कम हुनुमा चिप अभाव भएको देखाएको छ । कम्पनीले गत वर्ष आफ्नो व्यापारमा सुधार ल्याएर १०।३ प्रतिशत मार्जिन रहेकोमा बढाएर ११ प्रतिशत पुर्याएको छ ।

अक्टोबर र नोभेम्बर चाडपर्वको समय भएकाले उक्त समयमा कम्पनीले ६० देखि ७० प्रतिशतको व्यापार सोहीबेला गरेको छ कम्पनीको भनाइ छ । राष्ट्र बैंकले सवारी साधनको आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाले व्यापारमा कमी हुँदै गएको कम्पनीको भनाइ छ ।

अग्नी कम्पनीले निजी र व्यवसायिक प्रयोजनको गाडी २५ वर्ष अघिदेखि उपलब्ध गराउँदै आएको छ । जसमा कम्पनीले यूटिलिटी गाडी, प्यासेन्जर गाडी र ट्याक्टर बिक्री गर्दै आएका छन् । कम्पनीको देशभर आफ्नै ११ वटा शोरुम र २२ वटा प्रादेशिक डिलरसिप आउटलेट सञ्चालनमा छन् ।

कम्पनीमा क्याविनेट श्रेष्ठ, सुसन बैद्य श्रेष्ठ र अर्जुनप्रसाद शर्माको लगानी छ ।

कम्पनीले हालै ६ अर्ब ५४ करोड २० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । र, रेटिङ एजेन्सी इक्रा नेपालले नेगेटिभ वाचलिस्टबाट हटाएको छ ।


क्लिकमान्डु