स्कर्पियो र बोलेरोमा मात्रै भर पर्दा नेपालमा महिन्द्राको बिजनेस खस्कँदै, अग्नीको नाफा चिन्ताजनक



काठमाडौं । अटो व्यवसायमा छाएको सिथिलतालाई अग्नी इन्कर्पोरेटेडको ‘बिजेनस साइज’ले प्रतिबिम्बित गरेको छ । नेपाल महिन्द्रा कम्पनीको कार बेच्दै आएको अग्नीले पछिल्ला २ वर्षमा गरेको कुल व्यापार त्यसअघिको एकैवर्षको भन्दा कम देखिएको हो ।

विशेष गरी दुई मोडलमा पुरै बिजनेस निर्भर हुँदा नेपाली बजारमा महिन्द्राको उपस्थिति उल्लेख्य रुपमा विस्तार हुन सकेको छैन। त्यसमाथि विविध कारणले अटोमोबाइल्स क्षेत्र डामाडोल हुँदा महिन्द्रा र नेपालमा महिन्द्राको कार बेच्ने अग्नी इंक पनि बोझ थेग्न विवश बनेको देखिन्छ ।

कुनै समय सवारीसाधन खरिदबिक्री उत्कर्षमा पुगेको बेला अग्नीले एक वर्षमा करिब १३ अर्ब रुपैयाँसम्मको व्यापार गरेको हो । त्यसपछि सवारी आयातमा प्रतिबन्ध, उपभोक्ताको क्षमतामा ह्रास र मागमा आएको कमीको कारण अग्नीको बिजनेस आकारमा भारी गिरावट हुन पुग्यो ।

सन् २०२१ र सन् २०२२ मा अग्नीले क्रमशः १२ अर्ब ८ करोड र १२ अर्ब ९४ करोडको बिजेनस गरेको थियो । तर, त्यसपछि छाएको सिथिलताले अग्नीलाई नराम्ररी पिरोल्यो ।

सन् २०२३ मा कम्पनीको कारोबार ५ अर्ब १४ करोडमा खुम्चियो । सन् २०२४ को अपरिस्कृत वित्तीय विवरणअनुसार कुल कारोबार सन् २०२३ को भन्दा सामान्य बढेर ५ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ ।

अटो क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव रहे पनि अग्नीका लागि पछिल्लो समय ढुंगा चपाउनु झैं बनेको छ । महिन्द्रको कार र युटिलिटी भेइकल बेचेर अटो बजारमा गाढा पदछाप तय गरेको कम्पनीलाई महिन्द्राको नेपाली भुगोल अनुरुपका, बलिया, प्रतिपर्धी मूल्यका बाबजुद पनि कार बेच्न हम्मेहम्मे परेको देखिन्छ ।

जसकारण कम्पनीको नाफाको मार्जिनमा भारी गिरावट आएको छ । कम्पनीले सन् २०२४ मा कुल कारोबारको ७.४ प्रतिशतमात्र प्रोफिट मार्जिन राख्न सकेको छ । यो नाफाको मार्जिन सञ्चालन नाफा हो । अर्थात् यसमा कर, डिप्रिसिएसन र ब्याज सामेल छैनन् । अपरिस्कृत विवरणअनुसार नाफाको मार्जिन यति कम हुँदा खुद नाफा निकै कम वा घाटा नै हुने अनुमान लगाउन सकिन्छ ।

सन् २०२३ मा अग्नीको सञ्चालन नाफा कुल व्यापारको ८.३ प्रतिशत रहेकामा गत वर्ष झन् खस्किएको हो ।

सन् २०२१ मा कुन आम्दानीको १२ प्रतिशतमा सञ्चालन नाफा रहेको कम्पनीको यस्तो नाफाको मार्जिन सन् २०२२ १०.५ प्रतिशतमा झरेको थियो । त्यसपछि प्रोफिट मार्जिन झन्माथि झन् नाजुक भएको हो ।

अग्नी इंक चर्चित अटो व्यवसायी क्याबिनेट श्रेष्ठको हो । कम्पनीमा श्रेष्ठसहित सुसन वैद्य र अर्जुनप्रसाद शर्माको पनि लगानी छ ।

देशभर आफ्नै १७ शोरुम र सेल्स आउटलेट रहेको अग्नीको अन्य १६ क्षेत्रीय डिलरसिप आउटलेट छन् ।

सन् २०२४ को कम्पनीको व्यापार २०२३ को भन्दा ८ प्रतिशत बढी र २०२२ को भन्दा ५७ प्रतिशत कम हो ।

आर्थिक सुस्तताका कारण कम्पनीको बिजनेस घटेपनि एक मुख्य कारणले पछि परेको देखिन्छ । त्यो हो, इलेक्ट्रिक कारमा एग्रेसिभ व्यापार नगर्नु ।

कम्पनीले हाल एक्सयूभी ४०० मोडलको इलेक्ट्रिक कार बेच्दै आएको छ । नेपालमा विद्युतीय कार ल्याउने कार्यको सुरुवात गर्नेमध्येको एक महिन्द्राले अहिले एक्सयूभी ४०० र ट्रेयो नामको टेम्पुमात्र बेच्दै आएको छ । प्रतिस्पर्धी कम्पनीहरुले धमाधम ईभी बेच्न थाले पनि महिन्द्राको ईभी बजारमा खासै देखिँदैनन् ।

दोस्रो कारण हो, दुई मोडलमा निर्भर ।

महिन्द्राको बजार उपस्थिति स्कोर्पियो र बोलेरोले मात्र सपोर्ट गरेको देखिन्छ । अग्नीले बेच्ने कारहरुमध्ये यी दुईको हिस्सा ८८ प्रतिशत छ । अर्थात् साढे ५ अर्बमध्ये ४ अर्ब ९० करोड रुपैयाँको यी दुई गाडि बचेको छ ।

साथै पछिल्लो समय कम्पनीका सेयरधनी लाभांश लिन उद्दत देखिएपछि जगेडा कोष निकै सानो भएको छ ।

अग्नीले बैंकबाट निकै कम कर्जा लिएको छ । कम्पनीले ५० करोडको हाराहारीमा ऋण लिएको हो ।

तर कम्पनीले ३ अर्ब २७ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । अर्थात् बजार माग बढेको स्थितिमा कम्पनीले कर्जा लिनका निमित्त यति धेरै रकमको रेटिङ गराएको हो ।

सवारी आयातका लागि नगद मार्जिन राख्नुपर्ने कानुनी व्यवस्था हटेपछि कम्पनीले गराएको रेटिङ साढे ६ अर्बबाट घटेको हो ।

कम्पनीले एलसी खोल्न २ अर्बरुपैयाँसहित २ अर्ब ९१ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । यस्तै अरु ३५ करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि पनि रेटिङ गराएको हो ।

रेटिङ एजेन्सी इक्राले अग्नीलाई दीर्घकालीन कजाएका लागि एलए र अल्पकालीन कर्जाका लागि एवान रेटिङ दिएको छ ।


क्लिकमान्डु