बीएनबी लेक भ्यू रिसोर्ट अपार्टमेन्टको लागत बढ्यो, अब पौने २ अर्ब लाग्ने

483
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटरको दूरीमा बनिरहेको ‘बीएनबी लेक भ्यू रिसोर्ट अपार्टमेन्ट’को लागत बढेको छ । अपार्टमेन्टको लागत सुरुमा अनुमान गरेभन्दा बढेको हो ।

कम्पनीले सुरुमा उक्त अपार्टमेन्ट १ अर्ब १४ करोड ७० लाख रुपैयाँमा निर्माण गर्ने जनाएको थियो । तर अहिले सुरुकोअनुमानभन्दा अतिरिक्त जग्गाको सम्बन्धमा योजना परिवर्तनसँगै लागत बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले अहिले उक्त अपार्टमेन्ट निर्माण गर्न १ अर्ब ७६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

कम्पनीले अपार्टमेन्ट निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ६० करोड रुपैयाँ कर्जा लिने भएको छ । सोहीअनुसार कम्पनीले दीर्घकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।

त्यस्तै, कम्पनीले इक्विटीमार्फत् १५ करोड ५० लाख रुपैयाँ र ग्राहकबाट एड्भान्सबाट ६५ करोड रुपैयाँ रकम संकलन गर्ने रेटिङमा उल्लेख छ । हालसम्ममा ६० करोड रुपैयाँ लगानीकर्ताले लगानी गरिसकेका छन् ।

त्यसैगरी, ग्राहकबाट ६५ करोड रुपैयाँ रकम संकलन गर्ने भनिएकोमा हालसम्ममा १६ करोड ५० लाख रुपैयाँ रकम संकलन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीअनुसार अपार्टमेन्टको ५७ प्रतिशत आर्थिक प्रगति भएको छ । कम्पनीले सन् २०२६ को जुलाईसम्ममा निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ ।

सन् २०१८ मा दर्ता भएको बीएनबी कम्पनीले पोखरामा ३२ हजार ८ सय ६ वर्गफिट क्षेत्रफल जग्गामा अपार्टमेन्ट निर्माण गरिरहेको छ । कम्पनीले उक्त अपार्टमेन्ट ७० युनिटको निर्माण गर्नेछ ।

अहिले अर्थतन्त्रमा देखिएको समस्याका कारण घरजग्गा कारोबारमा सुधार आउन सकेको छैन । जसले गर्दा कम्पनीले निर्माण गर्ने अपार्टमेन्ट बिक्रीमा पनि कमी आएको देखिन्छ । त्यस्तै, कम्पनीले आगामी दिनमा माग बढ्न गएमा समयमै सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ ।

कम्पनीको अध्यक्ष होमबहादुर बसेल हुन् । बसेलसँग २० वर्ष रियल स्टेट क्षेत्रमा काम गरेकोको अनुभव छ । बसेल बीएनबी हाउजिङ कम्पनीको निर्देशक र बीनबी इन्जिनियररिङ ग्रुप र गण्डकी मेडिकल कलेजका संस्थापक हुन् ।