
एजेन्सी । बंगलादेशमा हजारौं मानिसहरू लामो समयसम्म सत्तामा रहेकी नेत्री शेख हसिनालाई सत्ताच्युत गराउने विद्यार्थीहरूको योजना सुन्न आएका छन् ।
ती विद्यार्थीहरूले यसै वर्ष नयाँ राजनीतिक पार्टी खोलेका थिए । अहिले यो पार्टी सडकको शक्तिलाई मतमा बदल्न संघर्ष गरिरहेको छ ।
दशकौंदेखिको परिवारवाद र दुई दलको प्रभुत्वबाट देशलाई मुक्त गर्ने वाचा पूरा गर्न संघर्ष गर्दै विद्यार्थीहरूले नेतृत्व गरेको नेशनल सिटिजन पार्टी (एनसीपी) फेब्रुअरी महिनामा हुने निर्वाचन नजिकिँदै गर्दा गहिरो जरा गाडेका र स्रोतसाधन प्रशस्त भएका प्रतिद्वन्द्वीहरूसँग भिडिरहेका छन् ।
‘हाम्रो संगठन कमजोर छ किनभने हामीसँग यसलाई बलियो बनाउन पर्याप्त समय छैन,’ पार्टीका प्रमुख नाहिद इस्लामले बताए । उनी गत वर्षको सरकारविरोधी आन्दोलनमा चर्चित बनेका थिए । उनले नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारमा छोटो समय काम पनि गरेका थिए ।
‘हामी यो कुरामा जानकार छौं तैपनि हामी चुनौती स्वीकार गरिरहेका छौं,’ २७ वर्षीय इस्लामले राजधानी ढाकाको एउटा अग्लो भवनमा रहेको पार्टी कार्यालयबाट भने । त्यहाँको एउटा पर्खालमा विद्रोहमा उत्रिएका भीडको ग्राफिटी कोरिएको थियो ।
मत सर्वेक्षणहरूले सबै ३०० सिटमा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको एनसीपीलाई केवल ६ प्रतिशत समर्थन सहित तेस्रो स्थानमा देखाएका छन् । यो पूर्वप्रधानमन्त्री खालेदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को ३० प्रतिशतभन्दा निकै पछाडि छ ।
कट्टरपन्थी जमात–ए–इस्लामी पनि एनसीपीलाई उछिन्दै २६ प्रतिशतका साथ दोस्रो स्थानमा छ भनी अमेरिकामा रहेको गैरनाफामूलक संस्था इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्यूटको सर्वेक्षणले देखाएको छ ।
‘उनीहरूले पहिलोपटक पार्टी खोल्दा मैले अरू सबैले जस्तै उनीहरूमा आशा देखेकी थिएँ,’ २५ वर्षीया प्राप्ति तपोशीले भनिन् । उनी विद्रोहको नेतृत्व गर्नेहरूमध्ये एक थिइन् र दुई ठूला दलले दशकौंदेखि चदाइरहेको शासन तोड्न नयाँहरूप्रति आशा गरेर बसेकी थिइन् । तर, पछि उनी निराश भइन् ।
‘उनीहरू आफूलाई मध्यमार्गी भन्छन् तर उनीहरूका कामहरू त्यससँग मेल खाँदैनन्,’ महिला अधिकार अभियन्ता तपोशीले थपिन् ।
‘उनीहरू अल्पसंख्यक अधिकार होस् वा महिला अधिकार होस् महत्त्वपूर्ण मुद्दामा अडान लिन हिचकिचाउँछन् लिँदा पनि ढिलो लिन्छन्,’ उनले थपिन् ।
एनसीपीप्रति बढ्दै गएको निराशाको अर्को संकेत सेप्टेम्बर महिनामा पाइएको थियो । ढाका विश्वविद्यालयको विद्यार्थी संघको चुनावमा उनीहरूले एउटै सिट पनि जित्न सकेनन् । हसिनालाई नयाँ दिल्ली भाग्न बाध्य बनाउने विद्रोहको केन्द्रबिन्दु त्यही विश्वविद्यालय थियो ।
हसिनाको अवामी लिगलाई निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ । आफूमाथिको प्रतिबन्ध नहटाइएमा अशान्ति हुने उसले चेतावनी दिएको छ । यस्तो धम्कीले विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बंगलादेशको कपडा उद्योगलाई खतरामा पार्न सक्छ ।
कमजोर संगठन संरचना, पैसाको अभाव र महिला तथा अल्पसंख्यक अधिकारजस्ता मुख्य मुद्दामा अस्पष्ट देखिएको एनसीपीले बीएनपी र जमात–ए–इस्लामी जस्ता दलहरूसँगको गठबन्धनका लागि वार्ता गरिरहेको नेताहरूले बताएका छन् ।
‘हामी एक्लै चुनावमा गयौं भने एउटा सिट पनि नजित्न सक्छौं,’ एक वरिष्ठ एनसीपी नेताले गोप्यता राख्ने शर्तमा रोयटर्सलाई बताए ।
तर विश्लेषकहरूका अनुसार गठबन्धन भएमा पार्टीको क्रान्तिकारी छवि कमजोर हुन सक्छ ।
‘गठबन्धन गरे भने जनताले उनीहरूलाई अवामी लिग, बीएनपी र जमातभन्दा फरक शक्तिको रूपमा हेर्न छोड्छन्,’ ढाकामा बस्ने लेखक तथा राजनीतिक विश्लेषक अल्ताफ परवेजले बताए ।
विद्रोहले छोटो समयका लागि सबै दलका विद्यार्थीलाई एकजुट पारेको थियो तर हसिना सत्ताच्युत भएपछि अधिकांश आफ्नै पुरानो दलमा फर्किए । थोरैले मात्र एनसीपी बनाएको राजनीतिक विश्लेषक बताउँछन् ।
अहिले पार्टीसँग गाउँसम्म गहिरो जरा गाडेका र राम्रोसँग चलिरहेका संयन्त्र भएका प्रतिद्वन्द्वीहरू छन् ।
पैसा अर्को ठूलो समस्या भएको इस्लामले बताए । सदस्यहरूले पूर्णकालीन जागिरको तलब, साना दान र क्राउडफन्डिङबाट अभियान चलाइरहेका छन् ।
२८ वर्षीय हसनात अब्दुल्लाहजस्ता नेताहरू गाउँ–गाउँमा घरदैलो गरेर समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।
‘मेरो क्षेत्रमा म मानिसहरूलाई पैसा छैन भन्छु,’ उनले बताए । उनी पूर्वी क्षेत्रबाट उम्मेदवार बन्दैछन् । ‘मैले उनीहरूलाई भनेको छु, नेताको मुख्य काम मतदातालाई पैसा बाँड्ने होइन । सरकारको पैसा सही ठाउँमा सही तरिकाले खर्च भएको सुनिश्चित गर्ने हो ।’
केही एनसीपी नेतामाथि भ्रष्टाचारको आरोप समेत लागेको छ । त्यसलाई पार्टीले अस्वीकार गरेको छ र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति रहेको दाबी गरेको छ । तर, यस्ता आरोपले पार्टीको छविमा थप आघात पुगेको छ ।
तैपनि केही युवाहरू अझै पार्टीको समर्थन गर्न इच्छुक छन् । उनीहरूले यसलाई पैसा, बल र वंशवादले आकार दिएको राजनीतिमा थप समानतायुक्त संस्कृति ल्याउने प्रयासको रूपमा हेरेका छन् ।
‘उनीहरू युवा छन्, उनीहरूले क्रान्ति नेतृत्व गरे र उनीहरूले परिवर्तन ल्याउन सक्ने मलाई आशा छ । तर, उनीहरू आफैं अधिनायकवादी बन्न हुँदैन,’ विश्वविद्यालयकी विद्यार्थी मन्जिला रहमानले भनिन् ।
एनसीपीले नोभेम्बर महिनामा असामान्य तरिकाले उम्मेदवारको खोजी गरेको थियो । दुई दिनभित्र देशभरिका साधारण नागरिकमध्ये १ हजारभन्दा बढीसँग उनीहरूले अन्तर्वार्ता लिएका थिए ।
जवान पार्टीका नेताहरू बुथ–बुथमा गएर सम्भावित उम्मेदवारहरूसँग कुरा गर्दै थिए । तीमध्ये एकजना रिक्सा चालक थिए जसले एक दिन काम छोडेर आएका थिए । अर्का २३ वर्षीय विद्यार्थी थिए जसलाई प्रदर्शनको क्रममा प्रहरीको छर्रा लागेर आंशिक अन्धो बनाएको थियो ।
‘रिक्सा चालकले संसदमा केही दिन सक्दैन भनी कोही–कोही सोच्लान्,’ ३२ वर्षीय मोहम्मद सुजान खानले भने, ‘मलाई एक मौका दिनुहोस्, म देश कसरी बदल्छु हेर्नुहोस् ।’
यस्तै भविष्यको सम्भावनाले डाक्टर तस्निम जारा पनि आकर्षित भइन् । उनले क्याम्ब्रिजमा सफल करियर छोडेर एनसीपीमा जोडिएकी थिइन् र यसलाई तलबाटै बनाउन चाहन्थिन् ।
‘हामी राजनीतिलाई शक्तिशाली परिवारहरूमा मात्र सीमित राख्न चाहँदैनौं, साधारण मानिसहरूलाई फेरि शक्ति दिन चाहन्छौं,’ उनले भनिन् ।
बीएनपी र जमातका नेताहरू पनि विद्यार्थीहरूसँग संलग्न हुनुको महत्त्वलाई विचार गरिरहेका छन् ।
‘भविष्यमा राजनीतिमा युवाहरूले नै प्रभुत्व जमाउनेछन् । त्यसैले उनीहरूलाई संसदमा समायोजन गर्न सक्यौं भने राम्रो हुन्छ,’ बीएनपी नेता मिर्जा फखरुल इस्लाम आलमगीरले भने ।
एनसीपी नेताहरूले आउँदो निर्वाचनभन्दा परको कुरा सोचिरहेका छन् र उनीहरू दीर्घकालीन संस्थागत तथा संरचनात्मक सुधार चाहन्छन् ।
‘जिते पनि वा हारे पनि निर्वाचनमा भाग लिएर मात्र नै हामी केही नयाँ प्रस्ताव गरिरहेका छौं,’ एनसीपीका अब्दुल्लाहले भने ।








प्रतिक्रिया