डेल ल्यापटप बेच्ने म्याक्स इन्टरनेशनलको व्यापार हरेक वर्ष घट्दो, २०२५ मा १५% कम

595
Shares

काठमाडौं । डेल, एसर लगायतका ल्याप्टप बेच्ने म्याक्स इन्टरनेशनलको व्यापार १५ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १५ प्रतिशतले घटेको हो ।

सन् २०२४ मा २ अर्ब ७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा १ अर्ब ७७ करोड रुपैयाँको व्यापार गरेको छ।

कम्पनीले सन् २०२३ मा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले गत आवमा २.१६ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.८१ प्रतिशत खुद नाफा कमाएको थियो । जसमा कम्पनीले ४ करोड ३० लाख रुपैयाँ नगद नाफा कमाएको छ । सन् २०२४मा २ करोड ३० लाख रुपैयाँ नगद नाफा कमाएको थियो ।

कम्पनीले जग्गाबाट पूर्ण रुपमा ११ करोड रुपैयाँ नाफा भएको थियो । जसको बिक्री आम्दानी १३ करोड रुपैयाँ थियो ।

कम्पनीको व्यापारको तथ्यांक हेर्दा हरेक वर्ष घट्दो क्रममा रहेको छ । सन् २००६ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका आईटी क्षेत्र र डेल ल्यापटपको आधिकारिक वितरक र देशभर सेवा दिँदै आएको छ।

कम्पनी टप २५को ओइउम ब्रान्ड र विभिन्न प्रकारका हजारभन्दा बढी सामग्री बेच्ने कम्पनी हो । कम्पनीले डेल टेक्नोलोजी, डेल इएमसी, माइक्रोसफ्ट, लेनेभो, ओराकल, सिस्को र अन्य सामग्री नेपालमा बेच्नका लागि वितरकको सम्झौता गरेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७३ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ करोड ८६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७० करोड १३ लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीमा शहिना हुसेनको स्वामित्व छ ।