
काठमाडौं । सरकारले नवीन तथा सिर्जनशील सोच(स्टार्टअप) मा आधारित व्यवसाय स्थापना तथा सञ्चालन गर्न चाहने नवउद्यमी र गति प्रदायकहरुको हकमा व्यवसाय सम्बद्र्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि कार्यान्वयनमा ल्याएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकार, विश्वविद्यालय र निजी क्षेत्रका संघसंस्थासँगको सहकार्य तथा साझेदारीमा व्यवसाय सम्वद्र्धन सेवा स्थापना, सञ्चालन र व्यवस्थापन गर्नका लागि यो कार्यविधि ल्याएको हो । मन्त्रालयले कात्तिक ३० गते यो कार्यविधि स्वीकृत गरेको थियो ।
नवीन तथा सिर्जनशील सोचमा आधारित नयाँ व्यवसाय स्थापना तथा सञ्चालन तथा पहिलेदेखि सञ्चालनमा रहेका उद्यमी व्यवसायीहरुलाई आवश्यक पर्ने प्रशिक्षण, परामर्श र उद्यमशीलतासम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यविधि ल्याइएको हो ।
यो कार्यविधिअनुसार विश्वविद्यालय, शैक्षिक संस्था वा निजी क्षेत्रका संघसंस्थासँग सहकार्य गरी व्यवसाय सम्बद्र्धन सेवासम्बन्धी गतिविधि सञ्चालनमा ल्याउनेछ ।
यो कार्यविधिअनुसार नवीन तथा सिर्जनशील सोच(स्टार्टअप) को आधारमा व्यवसाय स्थापना वा सञ्चालन गर्न चाहने तथा व्यवसाय सञ्चालन गरिरहेका उद्यमीमध्ये तीव्र बृद्धिको सम्भावना भएका उद्यमीलाई औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत प्रशिक्षण, परामर्श र आवश्यक सेवा उपलब्ध गराइनेछ ।
मन्त्रालयका अनुसार प्रशिक्षण, परामर्श र आवश्यक सेवा प्रतिष्ठानले स्थापित गर्ने केन्द्रमार्फत सञ्चालन गर्ने व्यवस्था गरेको छ । यस्तो प्रशिक्षण, परामर्श र आवश्यक सेवा भने संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकार, विश्वविद्यालय, शैक्षिक संस्था, निजी क्षेत्रका संघसंस्थाको सहकार्यमा सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ ।
प्रशिक्षण, परामर्श र आवश्यक सेवा उपलब्ध गराउने यस्ता संस्थाहरुको भने न्यूनतम पूर्वाधार हुनुपर्ने मापदण्ड तोकिएको छ ।
आवश्यक सामग्रीसहित फर्निचर, कार्यालय स्थल, सहयोग कक्ष, तालिम कक्ष, बैठक कक्ष र पार्किङस्थल हुनुपर्ने मापदण्ड तोकिएको छ । साथै तालिम दिने मेन्टर, बिद्युतीय उपकरण(कम्प्युटर, कलर प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर, प्रोजेक्टर) र दु्रतगतिको इन्टरनेट सुविधा उपलब्ध हुनुपर्ने मापदण्ड तोकिएको छ ।








प्रतिक्रिया