सुशीला कार्की सरकारले रोक्यो १५ हजार सिट क्षमताको गिरिजाप्रसाद क्रिकेट रंगशालाको बजेट


विराटनगर । सातादेखि मुलुक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले गुञ्जायमान छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई यसका म्याच खेलाउन भ्याई नभ्याई छ । मंसिर सुरूदेखि यो मैदानमा हरेक दिन एकदेखि दुईवटा म्याच भइरहेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्तरका क्रिकेट मैदान अन्यत्र पनि निर्माण भएको भए काठमाडौं बाहिरका क्रिकेटप्रेमीले पनि प्रत्यक्ष रूपमा यो खेलको मजा लिन सक्थे । क्रिकेट मैदानकै अभावमा नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिताका म्याच उपत्यकाबाहिर सञ्चालन गर्न सकेको छैन ।

अघिल्ला सरकारले यही मेसो आधार मानेर विराटनगरको बैजनाथपुरमा सुविधा सम्पन्न गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरू गरेको थियो । तर भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले यसको निर्माण कार्य रोकेपछि राष्ट्रिय गौरवको यो योजना अलपत्र परेको छ ।

दलीय सरकारको पालामा दुई वर्षअघि राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विराटनगर–१९ बैजनाथपुरमा निर्माण हुने भनिएको सुविधा सम्पन्न गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) ले प्रक्रिया सुरू गरेको थियो ।

त्यसका लागि राखेपले डीपीआर तयार गरी वातावरणीय प्रभाव मूल्यांकन समेत गरेर स्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालय समक्ष पठाएको थियो । राखेप इन्जिनियर केवल परियारले क्लिकमान्डुसँग भने, ‘जेनजी आन्दोलनपछि गठित सरकारले सबै कार्य रोकेकाले निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।’

अघिल्लो सरकारले यो योजनाका लागि १६ करोड विनियोजन गरेको थियो । तर हालको सरकारले सबै प्रक्रिया रोकेको छ । ‘टेण्डर प्रक्रियामा गएर योजनालाई अगाडि बढाउने राखेपको तयारी थियो । तर जेनजी आन्दोलनपछि गठन भएको सरकारले सबै प्रक्रिया रोक्का गर्दा गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य जस्ताको तस्तै रहेको छ,’ परियारले भने ।

अघिल्लो सरकारले यो रंगशालालाई राष्ट्रिय गौरवको योजनामा राखेर २ अर्ब ७९ करोड ७४ लाख लागतमा तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालासहित बहुउद्देश्यीय कभर्डहल, स्वीमिङ हल, चेन्जिङ ब्लक, पेभिलियन र प्याराफिट निर्माण गर्ने तयारी गरेको थियो । राखेपले यो योजनाको डीपीआर तयार गर्न मात्र झण्डै एक करोड खर्च गरेको थियो ।

राखेपले योजना आयोग र अर्थ मन्त्रालय समक्ष बहुवर्षीय आयोजना लागि बजेटको स्रोत सुनिश्चितता माग गरेको थियो । अर्थ मन्त्रालयले अहिलेसम्म स्रोत सुनिश्चितता गरेको छैन । अघिल्लो सरकारले विनियोजन गरेको १६ करोड बजेट पनि रोक्का गरेको छ । राखेप स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘अहिलेको सरकारले व्यक्तिका नाममा पूर्वाधार निर्माण र प्रतियोगिता आयोजना नगर्न उर्दी जारी गरेकाले पनि गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य प्रभावित भएको हो ।’

राखेप स्रोतका अनुसार गत आर्थिक वर्ष केपी ओली नेतृत्वको सरकारले यो योजनाका नाममा एक करोड र अर्को राष्ट्रिय गौरवको योजना काठमाडौंस्थित मूलपानी क्रिकेट रंगशालाका लागि ५० करोड विनियोजन गरेर भेदभाव गरेको थियो । कुल लागतको कम्तीमा पनि २०–२५ प्रतिशतसम्म बजेट विनियोजन नभए निर्माण प्रक्रिया सुरू गर्न गाह्रो हुने राखेप स्रोतको भनाइ छ।

समुद्री सतहबाट ९२ मिटर उचाइमा रहेको कोशी प्रदेशको राजधानी तथा औद्योगिक नगर विराटनगरको बैजनाथपुरको १५ विघा क्षेत्रफलमा निर्माण हुने १० हजार सिट क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितता गर्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले अर्थ मन्त्रालयलाई निर्देशन समेत दिएको थियो ।

यो मैदानमा क्रिकेट रंगशालासहित ५ हजार सिट क्षमताको एथलेटिक्स ट्रयाक, फुटबल तथा रग्बी रंगशाला, प्याभेलियन, बहुउपयोगी कभर्डहल, गार्ड हाउस, टिकट काउन्टर, अभ्यास नेट, स्वीमिङ पुल, खेलाडी ब्लक, पार्किङ क्षेत्र, होस्टल ब्लक र रेस्टुरेन्ट निर्माण गर्ने योजना छ ।

गिरिजाप्रसाद कोइरालाकै सक्रियतामा बहुउद्देश्यीय रंगशाला बनाउने भन्दै वन आपूर्ति समितिको साढे ८१ लाख रुपैयाँले २०५७ सालमा १५ विघा १५ धुर जमीन खरिद गरिएको तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सुधार अर्यालले जानकारी दिए । यो मैदान यहाँको सहिद मैदानदेखि ५ किलोमिटर उत्तर–पूर्वमा पर्छ । ‘यो जमिनमा आफ्नो नामको बहुउद्देश्यीय रंगशाला बनाउने धोको गिर्जाबाबुको थियो,’ अर्यालले भने । उनका अनुसार त्यसबेला यो जमिन प्रतिबिघा ५ लाख ४१ हजार रुपैयाँका दरले खरिद गरिएको थियो ।

यही मैदानमा राखेपले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले ६० लाख रुपैयाँको लागतमा टर्फ विकेटसहित क्रिकेटको घाँसे मैदान तयार गरेको थियो । त्यस्तै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि ४० लाखको लागतमा सुटिङ भवन र रेन्ज तथा १६ लाखको लागतमा सफ्ट टेनिस कोर्ट निर्माण गरेर प्रतियोगिता सञ्चालन गरिएको थियो । सुटिङ भवन र रेन्ज तथा सफ्ट टेनिस कोर्ट यसबेला बेवारिसे अवस्थामा छन्।

त्यसयता यो रंगशालाको क्रिकेट पिचमा अहिलेसम्म राखेप र प्रदेश सरकारले गरेर तीन करोड रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको क्रिकेट संघ मोरङका अध्यक्ष महमद साद कुरेशी (बाबु) को भनाइ छ । यो मैदानमा तीनवटा टर्फ विकेट छन् । साइड स्क्रिनको व्यवस्था छ । मैदान राम्रो छ । अहिले पनि यो मैदानमा प्रदेश र राष्ट्रिय स्तरका क्रिकेट खेल भइरहेका छन् ।