
काभ्रेपलाञ्चोक । यहाँस्थित पनौतीमा प्रविधिको प्रयोगद्वारा तरकारी तथा फलफूलका विषादीको अवशेष न्यूनीकरण गर्न फुड बैंक सञ्चालनमा ल्याइएको छ ।
पनौती नगरपालिका–४ स्थित ठाडोबाटोमा राष्ट्रिय कृषि कम्पनी नेपालको सहायक कम्पनी आरकेसिएनएल फुड बैंक लिमिटेडले सो ‘फुड बैंक’ सञ्चालनमा ल्याएको हो ।
कम्पनीले ‘ओजोन वास’ प्रविधिद्वारा तरकारी तथा फलफूलको बाहिरी भागमा रहेको विषादीको अवशेषलाई ९९ प्रतिशतसम्म कम गर्ने जनाएको छ ।
उक्त प्रविधियुक्त फुड बैंकमा स्थानीयस्तरमै उत्पादन भएको तरकारी–फलफूललाई ‘ओजोन वास’ गरी उपभोक्तालाई उपलब्ध गराइने फुड बैंकका अध्यक्ष विशाल हुमागाईँले बताए ।
‘फुड बैंकमार्फत कृषक र उपभोक्तालाई प्रत्यक्ष लाभ पु-याउने उद्देश्य राखेका छौँ, यसले बिचौलियालाई समावेश हुन दिँदैन’, उनले भने ।
लिमिटेडले आज औपचारिक कार्यक्रमका बीच फुड बैंकको शुभारम्भ गरेको हो । विशेषगरी काभ्रेपलाञ्चोकको तीन स्थानीय तह पनौती, बेथानचोक र बनेपाका कृषकलाई समेटेर पहिलो चरणमा कार्यक्रम सुरु गरिएको अध्यक्ष हुमागाईले जानकारी दिए ।
उनका अनुसार क्रमशः जिल्लाका करिब ६० हजार कृषकसम्म यो कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको छ ।
उक्त फुड बैंकमा ताजा तरकारी र फलफूल सङ्कलन गर्दै ओजोन वास गरी बिक्री वितरणका लागि राखिनेछ । बैंकमा पाँच हजार केजी क्षमताका दुई शीत भण्डारकोसमेत व्यवस्था गरिएको छ ।
कम्पनीले प्रयोगमा ल्याएको ओजोन वास प्रविधिअन्तर्गत ओजोनयुक्त पानी प्रयोग गरी तरकारी तथा फलफूलमा रहेका विषादी अवेष न्यूनीकरण गर्दै जीवाणुसमेत नष्ट गरिन्छ ।
यसले कीटनाशक अवशेष हटाउने, दुर्गन्ध तथा हानिकारक तत्व हटाउने, साथै खाद्य पदार्थको ‘सेल्फ लाइफ’ बढाउने काम जनाइएको छ ।
यस प्रविधिबाट उपभोक्ताले सुरक्षित र स्वास्थ्यकर खाद्य पदार्थ उपभोग गर्न पाउने विश्वास गरिएको छ । यस्तो प्रविधि जिल्लामै पहिलोपटक सञ्चालनमा ल्याइएको हो ।








प्रतिक्रिया