गाँजाको तेलसहित अमेरिकी नागरिक पक्राउ


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित एक अमेरिकी नागरिक पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीय अमेरिकी नागरिक ओग्नियन पेट्रोभ रहेका छन्। अमेरिकी राहदानीबाहक पेट्रोभ शुक्रबार एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका थिए।

विमानस्थलको प्रस्थानतर्फको ‘होल्ड ब्यागेज चेकिङ’ क्षेत्रमा एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेज शंकास्पद देखिएको थियो।

सुरक्षाकर्मीले ब्यागेज खोलेर जाँच गर्दा १.२५ लिटरका ५ वटा बोतलमा गाँजा वा भाँगोको जस्तो देखिने तेल फेला पारेका थिए।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राज कुमार सिलवालका अनुसार पक्राउ परेका पेट्रोभ र बरामद गरिएको सामग्रीलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि लागू औषध नियन्त्रण ब्यूरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको छ।