
काठमाडौं । एबीसी आयल इन्डष्ट्रिजले एकै वर्ष साढे ४ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ४१ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा २ अर्ब १२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीकाअनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा २०८ प्रतिशतले व्यापार बढेको छ । कम्पनीले गत आवमा ३.८० प्रतिशत खुद नाफा कमाएको छ भने सन् २०२४ मा ०.६५ प्रतिशत खुद नाफा कमाएको थियो ।
कम्पनीले चालु आवको पहिलो तीन महिनामा १ अर्ब ६० करोड रुपैयाँको कारोबार गरिसकेको रेटिङमा उल्लेख छ। सन् २०२१ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी व्यापार गर्दै आएको छ । कम्पनीले सन् २०२२ को मेबाट व्यवासायिक कारोबार सुरु गरेको थियो । कम्पनी गत जुलाईमा मात्रै पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो ।
कम्पनीको वार्षिक ६० हजार मेट्रिक टन तेल प्रशोधन गर्ने क्षमता छ । ३६ हजार मेट्रिक टन पाम तेल, १२ हजार मेट्रिक टन सनफ्लावर तेल र १२ हजार मेट्रिक टन भटमासको तेल प्रशोधन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
सञ्जय कोइराला अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ६० करोड २५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३० करोड २५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३० करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले कच्चा पदार्थ विदेशबाट आयात गर्दै आएको छ । कम्पनीले विभिन्न प्रकारका कच्चा तेल इन्डोनेसिया, मलेसिया, रुस, अर्जेन्टिना, चीन र युक्रेनबाट आयात गर्दै आएको छ । कम्पनीले उक्त आयातित कच्चा तेल प्रशोधन गरी नेपाली बजारसँगै भारतमा उच्च निर्यात गर्दै आएको छ ।
भारत सरकारले सन् २०२४ को सेप्टेम्बरमा तेल आयातमा भन्सार दर बढाएको थियो । उक्त भन्सार दर बढाएसँगै नेपाली उद्योगी तथा व्यापारीलाई उच्च लाभ भएको छ । भारत सरकारले कच्चा सनफ्लावर तेलको आयातमा २० प्रतिशत र प्रशोधित तेलमा ३२.५ प्रतिशत भन्सार दर बढाएसँगै त्यसको प्रत्यक्ष लाभ नेपाली उद्योगी तथा व्यवसायीले लिएका छन् । तर, भारत सरकारले गत जुनमा कच्चा तेल आयातमा २० प्रतिशत भन्सार दर घटाएर १० प्रतिशत कायम गरेको छ ।
त्यस्तै, आयात दर पनि घटाएको छ । जसमा भारत सरकारले २७.५ प्रतिशत आयात दर घटाएर १६.५ प्रतिशत तोकेको छ ।







प्रतिक्रिया