बैंक वित्तीय संस्थालाई दुर्गा प्रसाईं समूहको धम्कीपूर्ण पत्र, आन्दोलनका लागि मागे चन्दा


काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको ‘राष्ट्र राष्ट्रिता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ ले विभिन्न बैंक, वित्तीय संस्था र शैक्षिक संस्थालाई धम्कीपूर्ण पत्र पठाउँदै चन्दा माग गरेको छ ।

मंसिर ७ गतेबाट देशव्यापी अनिश्चितकालीन आमहड्तालको घोषणा गरेको प्रसाईंको अभियानले आफूहरूलाई साथ नदिए हुने तोडफोड, आगजनी र लुटपाटको जिम्मेवारी नलिने चेतावनी दिएको हो ।

प्रसाईं नेतृत्वको अभियानले आर्थिक सहयोगका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई पत्र काटेको हो ।

अभियानका केन्द्रीय अर्थ संयोजक देविप्रसाद संग्रौलाले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘…तपाईं राष्ट्रवादी देशभक्तहरूले स्वेच्छिक रुपमा नैतिक, आर्थिक, भौतिक सहभागीतासहित सहयोग गिरदिन हुन अपिल र आह्वान गर्दछौं ।’

उक्त पत्र पाएपछि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ) छलफलमा जुटेका छन् ।

नियामक नेपाल राष्ट्र बैंकले भने बैंक बन्द गराउने र चन्दा मागेर धम्की दिने लगायतको कसैबाट पनि हुन नहुने र त्यसो भएमा सरकारसँग यसबारे छलफल गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बैंक बन्द गराउने चन्दा माग्ने लगायतको आतंक छर्ने काम कसैबाट पनि हुन नहुने र त्यस्तो भएमा सरकारलाई जानकारी गराउने बताए ।

‘बैंक वित्तीय संस्थामा चन्दा मागेर आतंक फैलाउने काम कसैले पनि गर्नु हुँदैन,’ उनले भने, ‘यस्ता गतिविधि भए हामी सरकारसँग छलफल र समन्वय गर्छौं ।’

आन्दोलन घोषणा गरेर अराजक अभिव्यक्ति दिँदै आएका प्रसाईंलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।