
काठमाडौं । घट्दो ब्याजदरको प्रभाव देखिएपनि निर्जीवन बिमा कम्पनीको तुलनामा जीवन बिमा कम्पनीको नाफा ठिकठाक अवस्थामा देखिन्छ ।
बिमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन बिमा कम्पनीको नाफामा सामान्य वृद्धि भए पनि निर्जीवन बिमा कम्पनीहरु भने नोक्सानीमा धकेलिएका छन् ।
समीक्षा अवधिमा १४ वटा जीवन बिमा कम्पनीले कुल १ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा भने जीवन बिमा कम्पनीले कुल १ अर्ब ९२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
समिक्षा अवधिमा १० जीवन बिमा कम्पनीको नाफा बढ्दा तीन वटा कम्पनीको भने खुम्चिएको छ । यस अवधिमा सर्वाधिक नाफा गरेको रिलायबल नेपाल लाइफले २५ करोड ८५ लाख रुपैयाँ कमाएको छ । जबकि, अघिल्लो वर्षको सोही अवधिमा भने कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
गत वर्षको पहिलो त्रैमासमा १६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको सन नेपाल लाइफले चालु आवको सोही अवधिमा ४४.०२ प्रतिशतले बढाउँदै २३ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत आवमा २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको नेपाल लाइफले ४.९४ प्रतिशतको नाफा वृद्धि गर्दै कुल २१ करोड ५५ लाख रुपैयाँ कमाएको छ । यसका अलावा आइएमई लाइफले १५ करोड ८३ लाख र एसियन लाइफले १५ करोड २५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
हिमालयन लाइफ, प्रभु महालक्ष्मी लाइफ र राष्ट्रिय जीवन बिमा कम्पनीको नाफा भने संकुचित बनेको छ । खासगरी, लामो समयदेखि बैंकको ब्याजदर न्यून रहँदा त्यसको प्रभाव जीवन बिमा कम्पनीको वित्तीय विवरणमा देखिएको हो ।
बिमा कम्पनीको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थामा केन्द्रीत हुँदै आएकाले ब्याजदर घटेसँगै त्यसको प्रभाव बिमा कम्पनीको नाफामा पर्दै आएको छ ।

धेरैजसो जीवन बिमा कम्पनीले सामान्य रुपमा भएपनि नाफा बढाउँदै गर्दा अधिकांश निर्जीवन बिमा कम्पनी भने नोक्सानीमा धकेलिएका छन् । निर्जीवन बिमा कम्पनीमा प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स बाहेक सबै कम्पनीको नाफा ऋणात्मक देखिएको छ ।
समिक्षा अवधिमा प्रभु इन्स्योरेन्स कम्पनीले गत आवको पहिलो त्रैमासको तुलनामा १२ प्रतिशतले नाफा वृद्धि गर्दै ६ करोड ३१ लाख रुपैयाँ कमाएको छ । यसका अलावा गत आवको पहिलो त्रैमासमा १८ करोड ३ लाख घाटा बेहोरेको नेशनल इन्स्योरेन्सले ३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।
प्रकाशित वित्तीय विवरणअनुसार गत आवको पहिलो त्रैमासमा १५ करोड ६५ लाख रुपैयाँ कमाएको राष्ट्रिय बीमा कम्पनीले चालु आवको सोही अवधिमा ९ करोड ९५ लाख रुपैयाँ घाटा बेहोरेको छ ।
गत आवको असोजसम्म ११ करोड ५२ लाख नाफा कमाएको शिखर इन्स्योरेन्सले चालु आवको सोही अवधिमा भने १५ करोड ८५ लाख रुपैयाँ घाटा बेहोरेको छ ।
गत आवको पहिलो त्रैमासमा ७ करोड ४ लाख नाफा कमाएको नेको इन्स्योरेन्सले चालु आवको सोही अवधिमा ८ करोड ३१ लाख रुपैयाँ घाटा बेहोरेको छ भने ६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आवमा १० करोड ९३ लाख रुपैयाँ घाटा बेहोरेको छ ।
गत आवको सोही अवधिमा ६ करोड ४० लाख नाफा कमाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आवमा २९ करोड ८५ लाख रुपैयाँ घाटा बेहोर्दा गत आवमा ६ करोड १० लाख नाफा कमाएको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स चालु आवमा २० करोड ७६ लाख रुपैयाँ संकुचनमा गएको छ ।

एकातर्फ, बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदर न्यून हुँदा प्रतिफल कम प्राप्त गरिरहेका निर्जीवन बिमा कम्पनीले जेनजी प्रदर्शन, बाढी पहिरो लगायतबाट भएको क्षतिको दाबी भुक्तानी ठूलो मात्रामा गर्नुपर्दा नाफामा त्यसको असर देखिएको हो ।







प्रतिक्रिया