
काठमाडौं । भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमका कारण युनिलिभरको नाफा प्रभावित भएको छ । युनिलिभरले चालु आवको पहिलो त्रैमासमा ३० करोड रुपैयाँमात्र नाफा गरेको हो, जुन गत आवको सोही अवधिको तुलनामा ४३ प्रतिशत कम हो ।
युनिलिभरको कुल व्यापारमा आएको गिरावट र लागत वृद्धिले नाफा घटेको देख्न सकिन्छ । आन्दोलन र त्यसपछिको प्रभावले उपभोक्ताको क्रय भावनामा प्रभाव परेको कम्पनीको दाबी छ । खासगरी पर्सनल केयर, ब्युटी एन्ड वेल बिइङ र होम केयर सेग्मेन्टको व्यापार घटेको युनिलिभरले जनाएको छ । यसैगरी भारतमा वस्तु तथा सेवा कर जीएसटीको दरमाभएको परिवर्तनले पर्सनल केयर वर्गको बिक्री घटेको कम्पनीको दाबी छ ।
फलस्वरुप युनिलिभरको कुल व्यापार २ अर्ब २५ करोडबाट २ अर्बमा खुम्चिएको छ । यसैगरी कच्चा पदार्थको लागत पनि थोरै बढेको छ ।
युनिलिभरले गत आव ५२ करोड रुपैयाँ नाफा गरेको थियो । यद्यपि लजिस्टिक्स लागत र विज्ञापन खर्च घटाएर नाफा थप घट्नबाट रोकेको कम्पनीको दाबी छ ।
नाफा घट्दा युनिलिभरको एन्युअलाइज गरिएको प्रतिसेयर आम्दानी २ हजार ९६ रुपैयाँबाट घटेर १८ सय ८४ रुपैयाँमा सीमित भएको छ । यसैगरी प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँबाट बढेर ६ हजार ३ रुपैयाँ कायम भएको छ । असोज मसान्तको तथ्यांकअनुसार कम्पनीको पीई रेसियो २५.५३ छ ।
युनिलिभरले भाटभटेनी सुपरमार्केटमा भएको क्षतिका कारण व्यापार थप प्रभावित हुने जनाएको छ । भाटभटेनी युनिलिभरको सबैभन्दा ठूलो ग्राहकमध्ये एक हो ।








प्रतिक्रिया