
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२५ को मे महिनामा गोल्डन डोम परियोजनाको उद्घाटन गर्दा अमेरिकाको सुरक्षामा एकप्रकारको क्रान्ति ल्याउने वाचा गरेका थिए ।
१७५ अर्ब डलरको लागत पर्ने यस क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले अमेरिकामाथि आइलाग्ने सबै किसिमका खतरा रोक्ने दाबी गरिएको छ ।
रोनाल्ड रेगनको स्ट्राटेजिक डिफेन्स इनिसिएटिभबाट प्रेरित यस परियोजनाले उपग्रह, नयाँ पुस्ताका अवरोधक क्षेप्यास्त्र (इन्टरसेप्टर्स), रेडार र लेजर हतियारहरूको एकीकृत सञ्जाल निर्माण गर्ने परिकल्पना गरेको छ । यसको दायरा पृथ्वीको सतहदेखि अन्तरिक्षसम्म फैलिने बताइएको छ ।
सन् २०२९ सम्ममा अमेरिकालाई पूर्ण, प्रिएम्पटिभ (शत्रुको प्रहारअघि नै आफूले प्रहार गर्ने) र निरपेक्ष सुरक्षा दिलाउने यसको लक्ष्य छ ।
तर, यस प्रविधिक प्रदर्शनका पछाडि चिन्ताजनक तथ्य लुकेको छ । यस प्रणालीको कुनै ठोस डिजाइन प्रस्तुत गरिएको छैन । वास्तविक लागत आधिकारिक अनुमानको तीनगुणा पुग्न सक्ने देखिएको छ । पूर्ण सुरक्षाको विचार स्वयंमा अमेरिकाको दीर्घकालीन एकध्रुवीय प्रभुत्व कायम राख्ने चाहना गम्भीर कुरा हो । यसले विश्व स्थायित्वलाई सुदृढ गर्ने नभई कमजोर बनाउने जोखिम छ ।
असुरक्षा पूर्ण रूपमा मेटाउने प्रयासमा वाशिङटनले दशकौंसम्म विनाशकारी युद्ध रोक्ने सन्तुलनलाई नै जोखिममा पार्न सक्छ ।
गोल्डन डोमले विश्वका खतराबाट जोगिएको किल्ला जस्तो अमेरिका बनाउने पुरानो दृष्टिकोणलाई पुनर्जीवित गरेको छ । तर, यस नयाँ पहलले प्रतिस्पर्धी राष्ट्रहरूलाई पनि त्यो कवचलाई छेड्न वा निष्क्रिय पार्न सक्ने प्रणाली विकास गर्न प्रेरित गर्नेछ ।
हाइपरसोनिक ग्लाइड वाहन, थप गोप्य वारहेड र उपग्रह–निरोधी हतियारहरूको संख्या बढ्नेछ । सुरक्षा सुनिश्चित गर्नुभन्दा पनि गोल्डन डोमले अन्तरिक्षमा केन्द्रित नयाँ हतियारको दौड सुरु गराउने सम्भावना देखिन्छ ।
दीर्घकालमा यी दुई डोमबीचको विरोधाभासले अन्तरिक्ष सुरक्षाको भविष्य निर्धारण गर्न सक्छ । अमेरिकाको गोल्डन डोम विशाल खर्च, परीक्षण नगरिएको प्रविधि र विश्व प्रभुत्वको दाबीमा आधारित छ । चीनको प्रणाली भने दक्षता, एकीकरण र बहुपक्षीय जिम्मेवारीमा केन्द्रित छ
बेइजिङले पनि गोल्डन डोमका विषयमा तत्काल र स्पष्ट प्रतिक्रिया दियो । यस परियोजनाले अन्तरिक्षलाई युद्धक्षेत्रमा रूपान्तरण गर्न सक्ने र अन्तर्राष्ट्रिय सुरक्षा तथा हतियार नियन्त्रणको आधार हल्लाउन सक्ने भनी चिनियाँ अधिकारीहरूले चेतावनी दिए।
वाशिङटनले अन्तरिक्षमा प्रभुत्व प्राप्त गर्ने मोहले प्यान्डोराको बाकस खोल्ने र यसले अन्तरिक्ष जस्तो साझा क्षेत्रलाई अर्को द्वन्द्वको मैदानमा परिणत गर्ने चीनको भनाइ छ ।
अमेरिकाले आफ्ना महत्त्वाकांक्षी योजनाहरू प्रस्तुत गरिरहँदा चीनले पहिले नै आफ्नै रणनीतिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको नमूना प्रदर्शन गरिसकेको छ । यो प्रणाली रक्षात्मक प्रविधिमा ठूलो फड्को हो र यसको रणनीतिक दर्शन अमेरिकाभन्दा धेरै फरक छ ।
वितरित प्रारम्भिक चेतावनी र ठूलो डेटाको प्लेटफर्म यस प्रणालीको केन्द्रमा छ । यसले विश्वभरिका १ हजारसम्म क्षेप्यास्त्र प्रक्षेपणहरूलाई वास्तविक समयमा ट्य्राक गर्न सक्छ।
यसले अन्तरिक्ष, वायु, समुद्र र भूमिबाट प्राप्त विशाल सेन्सर डेटाहरूलाई एउटै प्रणालीमा संयोजन गर्छ, उन्नत एल्गोरिदम प्रयोग गरेर वास्तविक वारहेड र झूटो लक्ष्यबीच भिन्नता छुट्याउँछ र सुरक्षित सञ्जालमार्फत तुरुन्तै सूचना पठाउँछ ।
यस प्रणालीको सबैभन्दा उम्दा पक्ष यसको क्षमता हो । विभिन्न प्रकारका उपकरणहरूबाट आएका अनेक किसिमका डेटा प्रवाहलाई एकीकृत गर्ने यसको विशेषता हो । यसमा पुराना हार्डवेयर पनि प्रयोग गरिन सक्छ र यसले लागत घटाउँछ एवं प्रविधिको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्छ ।
यस नवीनताले चीनलाई विश्वभरिबाट उत्पन्न हुने चेतावनी र स्थिति बुझ्ने क्षमता प्रदान गर्छ । एउटै प्लेटफर्मबाट क्षेप्यास्त्रको खतरा देख्ने, बुझ्ने र प्रतिक्रिया जनाउने सामर्थ्य यसमा छ । अमेरिकाको कार्यक्रम अझै अवधारणात्मक चरणमै छ भने चीनको नमूना प्रणाली वस्तुगत रूपमा सञ्चालनमा छ ।
नानकिङ रिसर्च इन्स्टिट्युट अफ इलेक्ट्रोनिक्स टेक्नोलोजीले यस परियोजनाको नेतृत्व गरेको छ । त्यो चीनको प्रमुख रक्षा प्रविधि केन्द्र हो । त्यसले अमेरिकी प्रतिबन्धका बाबजुद नवप्रवर्तन जारी राखेको छ । अनुसन्धाताहरूका अनुसार, यो प्लेटफर्म अझै सुधारको चरणमा छ । तर, यसको अस्तित्वले नै एउटा स्पष्ट प्रवृत्ति देखाएको छ जसमा अमेरिका सिद्धान्त बनाउँछ भने चीन त्यसलाई व्यवहारमा उतार्छ ।
यस प्रणालीलाई अवरोधक (इन्टरसेप्टर) क्षेप्यास्त्रहरूसँग एकीकृत गर्ने सम्भावना अर्को महत्त्वपूर्ण कदम हो । सन् २०२५ सेप्टेम्बरमा बेइजिङमा भएको सैन्य परेडमा चीनले नयाँ पुस्ताका हवाई प्रतिरक्षा र ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्ने हतियारहरू प्रदर्शन गरेको थियो । त्यसमा वायुमण्डल बाहिरै शत्रुको क्षेप्यास्त्र रोक्न सक्षम एचक्यू–२९ पनि समावेश थियो । ६ प्रकारका नयाँ प्रतिरक्षा प्रणालीहरूको सामूहिक प्रदर्शन गरी चीनले पूर्ण बहुस्तरीय क्षेप्यास्त्र प्रतिरक्षा सञ्जाल भएका केही देशहरूको सूचीमा आफूलाई उभ्याएको छ ।
चीनको गोल्डन डोमले अन्तरिक्ष सैन्यीकरण नभई राष्ट्रिय सार्वभौमसत्ता र वैश्विक स्थायित्वको रक्षा गर्ने दृढ संकल्प देखाउँछ । प्रभुत्व लाद्ने भन्दा पनि असुरक्षा घटाउने, स्थितिको सटीक जानकारी बढाउने र विश्वसनीय प्रतिरोध कायम गर्ने यसको लक्ष्य हो ।
विभिन्न सेन्सरहरूलाई जोडेर र ठूलो पूर्वाधारविना नै संयोजित प्रतिक्रिया सम्भव बनाएर यस प्रणालीले लागतमा प्रभावकारिता, प्रविधिक दिगोपन र रक्षात्मक उद्देश्यको प्रदर्शन गरेको छ । सैन्यीकरण वा आक्रमणबाट नभई सूचना र शुद्धताको माध्यमबाट सुरक्षा सुनिश्चित गर्न सकिने बेइजिङको स्पष्ट सन्देश छ ।
चीनका नीतिगत वक्तव्यहरूले पनि यही कुरामा जोड दिएका छन् । बेइजिङले अन्तरिक्षलाई शान्तिपूर्ण क्षेत्रका रूपमा राख्ने, बहुपक्षीय शासन, पारदर्शिता र साझा जिम्मेवारीको पक्षमा निरन्तर बोल्दै आएको छ ।
चीनले अन्तरिक्षलाई युद्धक्षेत्रमा बदल्ने प्रयासको विरोध गरेको छ । यसको सुरक्षा हितहरू विश्व स्थायित्व र अन्तरिक्ष वातावरणको दीर्घकालीन दिगोपनसँग जोडिएको चीनको भनाइ छ ।
यस दृष्टिकोणमा चीनको प्रगतिले स्थायित्वको प्रत्याभूति गर्छ । आक्रामक हतियारविना पनि सम्भावित खतरा पत्ता लगाउने र ट्य्राक गर्ने क्षमताद्वारा बेइजिङले जिम्मेवार रक्षा आधुनिकीकरणको नमूना देखाएको छ । पारदर्शी, डेटामा आधारित र रक्षात्मक प्रणालीले शत्रुको आक्रमणलाई निरुत्साहित गर्छ र प्रिएम्पटिभ आक्रमणको आकर्षण घटाउँछ ।
चीनको प्रारम्भिक चेतावनी ठूला डेटा प्लेटफर्म विकासमा भएको उपलब्धि आजका महाशक्तिबीचको प्रतिस्पर्धाको नयाँ अध्याय हो । अमेरिका र रुस दुवैले आफ्नो रणनीतिक शक्ति प्रदर्शन गरिरहेको र आणविक प्रतिरोधको स्तर बढाउँदै लगेको बेलामा चीनको उपलब्धि सार्वजनिक भएको हो ।
अक्टोबर महिनामा रुसले बुरेभेस्टनिक नामक आणविक ऊर्जाबाट सञ्चालित क्रुज क्षेप्यास्त्र र विकिरणयुक्त सुनामी उत्पन्न गर्न सक्ने पोसेडन भनिने पानीमुनि चल्ने ड्रोन गरी दुईवटा खतरनाक हतियारको परीक्षण गरेको थियो । त्यसको प्रतिक्रियामा ह्वाइट हाउसले सन् १९९२ पछि पहिलोपटक अमेरिकाको आणविक हतियार परीक्षण गर्ने घोषणा गरेको छ ।
हतियार नियन्त्रण सम्झौता विफल हुँदै जानु र परीक्षण पुनः सुरु हुनु महाशक्तिहरूबीचको अविश्वासको गहिरो संकेत हो । यस वातावरणमा अमेरिकाको गोल्डन डोम कवच भन्दा पनि एउटा घोषणा हो । यही नीतिले अरूलाई पनि नवप्रवर्तनतर्फ धकेल्छ । बेइजिङको प्रतिक्रिया आक्रामक नभई अनुकूलनात्मक हो । सुरक्षा सन्तुलन कायम राख्ने गरी हतियार प्रणालीको आधुनिकीकरणको प्रयास हो ।
यस्तो प्रणालीले विभिन्न राष्ट्रहरूबीच साझा चेतावनी संयन्त्र स्थापित गर्न मद्दत गर्न सक्छ र यसले गलत बुझाइ र आकस्मिक युद्धको जोखिम घटाउँछ
दीर्घकालमा यी दुई डोमबीचको विरोधाभासले अन्तरिक्ष सुरक्षाको भविष्य निर्धारण गर्न सक्छ । अमेरिकाको गोल्डन डोम विशाल खर्च, परीक्षण नगरिएको प्रविधि र विश्व प्रभुत्वको दाबीमा आधारित छ । चीनको प्रणाली भने दक्षता, एकीकरण र बहुपक्षीय जिम्मेवारीमा केन्द्रित छ । यो सस्टेनेबल सिक्योरिटी अर्थात् जानकारी, समन्वय र संयमद्वारा दिगो सुरक्षा निर्माण गर्ने दर्शनसँग मेल खान्छ ।
पूर्ण रूपमा यसको कार्यान्वयन भयो भने चीनको अर्ली वार्निङ बिग डेटा प्लेटफर्म संसारकै पहिलो वैश्विक रूपमा एकीकृत क्षेप्यास्त्र–प्रतिरक्षा प्रणाली बन्न सक्छ । यो प्रभुत्वको साधनका रूपमा नभई साझा सुरक्षाको उम्दा नमूनाको रूपमा रहनेछ । यस्तो प्रणालीले विभिन्न राष्ट्रहरूबीच साझा चेतावनी संयन्त्र स्थापित गर्न मद्दत गर्न सक्छ र यसले गलत बुझाइ र आकस्मिक युद्धको जोखिम घटाउँछ ।
अहिले अमेरिका र चीन दुवै नयाँ रणनीतिक युगको ढोका खोलिरहेका छन् ।
वाशिङटनको गोल्डन डोमले अभेद्यताको वाचा गरेको छ तर त्यही क्रममा विगतको जस्तो हतियार प्रतिस्पर्धा पुनः सुरु गर्ने खतरा पनि बोकेको छ । चीनको प्रतिरक्षा प्रणाली पनि त्यही प्रविधिक सोचबाट जन्मिएको हो । तर, यसले शक्तिप्रदर्शन नभई जिम्मेवार रक्षात्मक प्रणालीतर्फको वैकल्पिक बाटो देखाएको छ ।
(आरटीमा प्रकाशित लादिस्लाभ जेमानेकको आलेखको अनुवाद)







प्रतिक्रिया