दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेवा मर्स्याङ्दी बेसीको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

84
Shares

काठमाडौं । अपि पावर कम्पनीले आफ्नो उत्पादन क्षमता विस्तार गर्ने योजनाअन्तर्गत लमजुङको बेसीसहरमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना का लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडानको ठेक्का सम्झौता गरेको छ ।

उक्त सम्झौता ट्रोयर एजी, इटालीसँग गरिएको हो । सम्झौतामा ट्रोयर एजीका बिक्री विभाग प्रमुख ह्यान्सपिटर स्कोल्झोर्न, ट्रोयर हाइड्रो, भारतका अध्यक्ष पवन ढकाल र प्रवर्द्धक कम्पनी दिव्य ज्योति हाइड्रोपावर लिमिटेड का अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

ट्रोयरका अनुसार मर्स्याङ्दी बेसी आयोजना नेपालमा जडान हुन लागेको सबैभन्दा ठूलो फ्रान्सिस टरबाइन मध्ये एक हुनेछ । हाल ट्रोयरले आपूर्ति गरेका सुपर चेपे (९.०५ मेगावाट) र ठूलो खोला (२१.३ मेगावाट) आयोजना सञ्चालनमा छन् भने मेवा खोला (५० मेगावाट), सेती खोला (२२ मेगावाट) र स्यार्पु खोला (३.३ मेगावाट) आयोजना अन्तिम परीक्षण चरणमा रहेका छन् ।

त्यस्तै न्यासिम खोला (३८.५ मेगावाट), अपर खुडी (२६ मेगावाट), सभाखोला बी (३२.२५ मेगावाट), लुजा खोला (२४.९८ मेगावाट), अपर म्याग्दी (४६.२५ मेगावाट), अपर म्याग्दी–१ (५३.५ मेगावाट) र दूधपोखरी चेपे (११ मेगावाट) जस्ता आयोजना डिजाइन तथा निर्माणका विभिन्न चरणमा रहेको कम्पनीले जनाएको छ ।

नेपालमा दीर्घकालीन सेवा तथा प्राविधिक सहयोग सुदृढ गर्नका लागि ट्रोयरले हालै काठमाडौंमा वेयरहाउस स्थापना गरी स्थानीय प्राविधिक टोली गठन गरेको छ, जसले आयोजना सञ्चालनमा आएपछि मर्मत–सम्भार र तत्कालीन प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

सम्झौताअनुसार ट्रोयर एजीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्य सम्पन्न गरी आयोजना विद्युत उत्पादनका लागि तयार गर्नेछ । अनुमानित करिब १० अर्ब रुपैयाँ लागतको यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूहबाट र बाँकी ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट जुटाइनेछ ।

आयोजना करिब दुई वर्ष र छ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य लिइएको छ । यस आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइएको छ ।

यसअघि अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका सम्पूर्ण सेयर खरिद गरी मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको स्वामित्व तथा व्यवस्थापन आफ्नो बहुमत स्वामित्वमा ल्याउने निर्णय गरेको थियो । आर्थिक तथा प्राविधिक मूल्यांकनपछि उपयुक्त देखिएकाले अब उक्त आयोजना अपि पावर कम्पनीको प्रत्यक्ष व्यवस्थापनमा निर्माण हुँदैछ ।