
काठमाडौं । सारथी केबल इन्डष्ट्रिजको व्यापार ४१ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४१ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा ३८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ५४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ५१ करोड रुपैयाँ, सन् २०२२ मा ६५ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ७५ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार बढे पनि पछिल्लो तीन वर्षदेखि खुद नाफा भने १ प्रतिशतभन्दा कम रहेको रेटिङमा उल्लेख छ ।
सन् २००५ मा स्थापना भएको कम्पनीले अल्मोनियम र कपर तार र केबल उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक १५ सय ४८ मेट्रिक टन अल्मोनियमजन्य सामग्री र ११ सय ६१ मेट्रिक टन कपरजन्य सामग्री वस्तु उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
अंकित भुसालको ९९.७६ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४९ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३१ करोड रुपैयाँको रेटिङ गराएको हो ।
भुसाल ग्रुपद्वारा सञ्चालित कम्पनीमा तीन जना बोर्ड सदस्य छन् । कम्पनीले हाउस वायरिङ केबल र पावर केबल उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको सामग्री आवासीय तथा व्यवसायिक सेग्मेन्टमा उच्च प्रयोग हुँदै आएको छ ।







प्रतिक्रिया