अब डोजर पनि इलेक्ट्रिक, पञ्चकन्याले ल्यायो नेपालकै पहिलो इलेक्ट्रिक ह्विल लोडर

658
Shares

काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रिक ह्विल लोडर सार्वजनिक गरिएको छ । पन्चकन्या ग्रुप अन्तर्गतको कम्पनी एक्सप्लोर अर्थ मुभर्सले नयाँ मोडलको मेसिन नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

ललितपुर महानगरपालिका–३, कृष्णगल्लीस्थित पन्चकन्या ग्रुपको प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा यो अत्याधुनिक इलेक्ट्रिक ह्विल लोडर घोषणा गरिएको हो ।

एक्सप्लोर अर्थ मुभर्सले विगत लामो समयदेखि विभिन्न निर्माण उपकरण तथा मेसिनहरू वितरण गर्दै आएको छ । कम्पनीले नयाँ मोडल बजारमा ल्याउँदै वातावरणमैत्री प्रविधिको प्रवर्द्धनमा योगदान पुर्‍याउने बताएको छ । उक्त इलेक्ट्रिक ह्विल लोडरले नेपाल सरकारले अघि सारेको विद्युतीय सवारीसाधनको प्राथमिकता र हरित ऊर्जा प्रवर्द्धनको अभियानलाई सघाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

कम्पनीका अनुसार नयाँ मोडल वातावरणमैत्री, कम ऊर्जा खपत गर्ने र न्यून मर्मत खर्चमा सञ्चालन गर्न सकिने अत्याधुनिक उपकरण हो । यसमा प्रयोग गरिएको स्मार्ट ब्याट्री प्रविधि र ऊर्जा व्यवस्थापन प्रणालीले एक पटकको चार्जमा लामो समयसम्म काम गर्न सक्ने बनाउँछ । साथै, यो लोडरले न्यून आवाजमा सञ्चालन हुने भएकाले सहरभित्रका निर्माण कार्य, औद्योगिक स्थल तथा वातावरणीय संवेदनशील क्षेत्रमा विशेष उपयोगी हुने अपेक्षा गरिएको छ ।

नयाँ इलेक्ट्रिक ह्वील लोडरमा १८०.५ kWh क्षमताको लिथियम आयरन फस्फेट ब्याट्री, ६० kW नियमित र ९० kW अधिकतम मोटर शक्ति, र १.५ देखि ३.० m³ सम्मको बकेट क्षमता (स्ट्यान्डर्ड २.१ m³) रहेको कम्पनीले जनाएको छ ।

मुख्य विशेषताः
शून्य उत्सर्जन: सफा हावाको संरक्षण र कम कार्बन फुटप्रिन्टमा योगदान ।
उत्कृष्ट ऊर्जा दक्षता: अत्याधुनिक ब्याट्री प्रविधिले लामो समयसम्म लगातार सञ्चालन ।
मजबूत प्रदर्शन: परम्परागत डिजेल लोडरभन्दा शक्तिशाली र भरपर्दो ।
कम मर्मत खर्च: साधारण इलेक्ट्रिक ड्राइभ प्रणालीले सञ्चालन लागत घटाउँछ ।