एक वर्षसम्म मासिक १२,१७० रुपैयाँ दिने सहमति विपरीत हायातले निकाल्यो १३३ कर्मचारी

व्यक्तिगत मुद्दा फिर्ता लिनुपर्ने व्यवस्थापकको प्रस्तावपछि मजदुर असन्तुष्ट

966
Shares

हायातले श्रमिकलाई एक वर्षसम्म १२,१७० रुपैयाँ दिने र सो अवधिमा सुरक्षा कोषमा मजदुरको ११ प्रतिशत र अर्को २० प्रतिशत होटल व्यवस्थापनले राख्ने सहमति भएको छ । एक वर्षपछि होटल पुनः सञ्चालन हुँदा भने मजदुरलाई खाइपाइ आएकै तलब र सेवा सुविधामा काममा फर्कने वातावरण दिने सहमति होटलका तीन वटै कर्मचारी युनियनसँग गरेको भएपनि व्यक्तिगत पुराना मुद्दा फिर्ता लिनुपर्ने होटलको शर्तका कारण सहमति भाँडिएको छ ।

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनीपछि बन्द रहेको पाँचतारे होटल तारागाउँ रिजेन्सी (हायात)ले १३३ जना कर्मचारीलाई हटाउने सूचना सार्वजनिक गरेको छ । हाेटलका तीनवटै मजदुर युनियनसँग भएको सहमति विपरीत हाेटलले श्रमिक कटाैतीको सूचना निकालेकाे हो ।

यो सूचना हाेटलले आगामी एक वर्ष मर्मतका लागि सञ्चालन नगर्ने र सो अविधसम्म स्थायी मजुदरलाई मासिक १२,१७० रुपैयाँ दिने गरी गरेको सहमती विपरीत हो ।

होटलले तिहारपछि मजदुरलाई काममा नआउनु भनेको थियो । यो होटलमा हाल १४७ स्थायी र अरु २ सय जना जति करारका कर्मचारी छन् । स्थायी कर्मचारीमध्ये १३३ जनालाई कटौती गर्ने गरी सूचना निकालेको छ । होटलले कात्तिक १५ गते (मंगलबार) एक महिनाको समय दिएर मजदुर कटौती गर्ने सूचना निकालेको हो । होटलले श्रम एन २०७४ को दफा १४५ बमोजिम होटलका १३३ जना मजदुरलाई आगामी मंसिर २२ गतेदेखि लागू हुने गरी कटौती गरेको उल्लेख छ ।

होटलले श्रमिकलाई सरकारले तोकेको न्यूनतम मजदुरको १२,१७० रुपैयाँ एक वर्षसम्म दिने भएको छ । सो अवधिमा सामाजिक सुरक्षा कोषमा ११ प्रतिशत मजदुरको र अर्को २० प्रतिशत होटल व्यवस्थापनले राख्ने छन् । एक वर्षपछि होटल पुनः सञ्चालन हुने भएकोले मजदुरलाई खाइपाइ आएकै तलब र सेवा सुविधामा काममा फर्कने वातावरण दिने सहमति होटलका तीन वटै कर्मचारी युनियसँग गरेको भएपनि व्यक्तिगत मुद्दा फिर्ताकै कारण सहमति भाँडिएको पनि मजदुर युनियनको भनाइ छ ।

होटलमा नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ छन् । तीनवटै मजदुरसंघसँग सहमति गरेर होटलले श्रमिक कटौती गर्ने सहमति गरेको थियो । तर सूचना भने सहमित विपरीत सार्वजनिक भएको हाेटलका मजदुरहरुकाे भनाइ छ ।

होटलले श्रमिक कोषबाट मजुदुरले पाउने न्यूनत तलव दिने सहमति भएको होटल व्यवस्थापकसँग वार्तामा सहभागि एक सदस्यले बताए । उनका अनुसार सहमति गरेर हस्ताक्षरको लागि लिखित दस्तावेज बनाउने क्रममा होटल व्यवस्थापनले यो सहमति कार्यान्वयसँग होटलसम्बन्ध सबै व्यक्तिगत मुद्दापनि फिर्ता लिनुपर्ने शर्त अगाडि सारेपछि मजदुर असन्तुष्ट भएका छन् ।

होटलका मजदुर युनियनका तर्फबाट पाँच जना कर्मचारीले व्यक्तिगत रुपमा होटलले गरेको अन्यायको विरुद्धमा विभिन्न समयमा मुद्दा हालेका छन् । ती मुद्दालाईसमेत होटलले एकमुष्ट सम्बोधन गरेर फिर्ता लिनुपर्छ भनेपछि होटल व्यवस्थापकसँग भएको सहमति नमान्ने भन्दाभन्दै होटलले मजदुर कटौतीको सूचना जारी गरेको होटलका एक मजदुरले बताए ।

ट्रेड युनियन र व्यवस्थापकबीच सहमति भएर यस अघि नै बनेको श्रमिक कोषमा रहेको २ करोड २० लाख रुपैयाँ मध्येबाट नै १४४ जना (एक देखि ७ तहसम्मका) कर्मचारीलाई समान रुपले वितरण गर्ने सहमति भएको थियो । तर होटलले अन्तिम समयमा व्यक्तिगत मुद्दासमेत फिर्ता लिएर मुद्दा शून्य बनाउनुपर्छ भनेका कारण मजदुरले अनसन्तुष्टि जनाएको हो ।

मजदुरको सहमति विना नै होटलले भने १३३ जना श्रमिक निकाल्ने गरी सूचना निकालेको भएपनि यसलाई श्रमिकले नमान्ने पनि होटलसम्बन्ध एक मजदुर युनियका अध्यक्षले क्लिकमान्डुलाई जानकारी दिए ।

होटलले निकालेको सूचनामा नै श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पहरुको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनहरुसँग छलफलसमेत गर्दा कुनै निष्कर्ष पुग्न सकेको अवस्था नभएको उल्लेख गरेको छ । होटले मजदुरसँगको सहमति विना नै श्रमिक कटौतीको सूचना निकालेको सूचनामा उल्लेख छ ।

होटल श्रम ऐन अनुसार अगाडि बढेकोले अब मजदुर पनि आफ्नो हकहित लागि मुद्दामा नै जाने दाबी ति मजदुरको छ । होटलले गरेको हिजोको सहमति कार्यान्वयन गर्ने र होटलसँगका विभिन्न मजदुरका व्यक्तिगत मुद्दालाई यथावतमा नै राखेर सहमति कार्यान्वयन गर्न सकिने भनाइ मजदुर युनियनको छ ।

होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिमको होटल हायत रिजेन्सीको श्रमिक कटौति सम्बन्धी सूचना मंगलबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नु पर्ने एवं यस अवधीमा संचालनमा नरहेको होटलमा श्रमिकहरुलाई काममा लगाउन समेत होटल असमर्थ रहेको हुँदा होटलमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई कटौती गर्नपर्ने होटलले निकालेका सूचनामा उल्लेख छ ।

उपरोक्त सम्बन्धमा मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा यस होटलमा आपराधिक समूह प्रवेश गरी होटलमा तोडफोड, लुटपाट र आगलागिजन्य क्रियाकलापहरु गरेको कारण सोही दिनबाट यस होटल पूर्ण रुपमा बन्द रहेको छ ।

होटलमा भएको उक्त आगलागी र तोडफोडका कारण होटल क्षेतिग्रस्त भई पूर्ण रूपले मर्मत सम्भार नगरी संचालनमा ल्याउन सक्ने अवस्था समेत नरहेकाले होटलको मर्मत सम्भार नहुँदासम्म होटल पूर्ण रुपले बन्द रहने होटलले उल्लेख गरेको छ ।

होटलका अनुसार भाद्र २४ को घटनाका क्रममा होटलमा भएका एकजना विदेशी पाहुनाले आगलागीको कारण बाहिर आउन नसकि ज्यान बचाउन होटलको ४ तलाबाट हामफाल्दा घाईते भई उपचारको क्रममा ज्यान गएको उल्लेख गरेको छ ।

होटलमा आवास सुविधा लिएका अन्य विदेशी अतिथिहरूको लगेज तथा सरसामानहरू समेत आपराधीक समूहले लुटपाट तथा आगो लगाएकोमा सो घटनाले अन्तराष्ट्रिय जगतमान होटलको ख्यातीमा व्यापक नकारात्मक प्रभाव पारेको दाबी होटलको छ ।

कोभिड १९ का कारण लामो समय सम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठूलो आर्थिक क्षति भएको र सो अवस्थाबाट हालसालै मात्र केहि सुधार आइरहेकोमा मिति २०८२ भाद्र २४ को घटनाको कारण पुनः होटललाई ठूलो आर्थिक क्षति हुन पुगेको छ ।

होटलको मर्मत सम्भारका लागि करोडौं रकम लाग्ने र मर्मत अवधी भर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले प्रतिष्ठानलाई विगतको भन्दा ठूलो आर्थिक चुनौति समेत आएको होटलको मजदुरलाइ कटौती गरेर खर्च घटाउनुपरेको समेत उल्लेख गरेको छ ।

के छ होटलले श्रमिक कटौती गर्न आधार मानेको श्रम ऐनमा ?
श्रम ऐन २०७४ को दफा १४५ मा श्रमि कटौती गर्न सक्ने व्यवस्था छ । यो व्यवस्था अनुसार सम्बन्धित प्रतिष्ठान सञ्चालनमा आर्थिक समस्या उत्पन्न भएमा वा एकभन्दा बढी प्रतिष्ठानहरु गाभिएको कारण श्रमिक सङ्ख्या बढी भएमा वा अन्य कुनै कारणले प्रतिष्ठान आंशिक वा पूर्णरुपमा बन्द गर्नु पर्ने भएमा रोजगारदाताले श्रमिकको सङ्ख्यामा कटौती गर्न सक्नेछ ।

श्रमिकको सङ्ख्या कटौती गर्दा त्यसरी कटौती गर्ने मितिभन्दा कम्तीमा तीस दिन अगावै कटौती गर्नु पर्ने कारण, कटौती हुने सम्भावित मिति र कटौतीमा पर्ने सम्भावित श्रमिकको सङ्ख्या खुलाई रोजगारदाताले कार्यालय र प्रतिष्ठानस्तरको आधिकारिक ट्रेड युनियन भएमा त्यस्तो युनियन र नभएमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियन वा श्रम सम्बन्ध समितिलाई सूचना दिनु पर्नेछ व्यवस्था छ ।

सूचना दिएपछि रोजगारदाताले सम्बन्धित युनियन वा श्रम सम्बन्ध समितिसँग श्रमिक कटौतीको विकल्प र कटौती गरिने श्रमिक छनौट गर्ने आधार तथा शर्तका विषयमा छलफल गर्नु पर्नेछ र छलफलमा सहमति भए बमोजिम श्रमिक कटौती गर्न सकिनेछ व्यवस्था पनि श्रम ऐनमा छ ।

श्रम ऐनमा ट्रेड युनियन वा श्रम सम्बन्ध समितिले छलफल गर्न नचाहेमा वा छलफल गर्दा सहमति नभएमा रोजगारदाताले सोही कुराको जानकारी कार्यालयलाई दिई श्रमिकको सङ्ख्यामा कटौती गर्न सक्ने व्यवस्था पनि ऐनमा छ । होटलले यही व्यवस्था अनुसार सूचना प्रकाशन गरेको उल्लेख छ ।

श्रम ऐनले श्रमिकको सङ्ख्या कटौती गर्नुपर्दा सामान्यतया विदेशी श्रमिक, खराब आचरणमा तुलनात्मक रुपमा बढी सजाय पाएको श्रमिक, कार्य सम्पादन स्तर कमजोर रहेको श्रमिक, एकै किसिमको काममा कार्यरत श्रमिकहरु मध्ये त्यस्तो काममा सबैभन्दा पछि नियुक्त भएको श्रमिकलाई आधार बनाउनुपर्ने छ ।

सबैभन्दा पछि नियुक्त भएकालाई कटौती गर्नु पर्ने गरी तोकिएको क्रम अनुसार कटौती नगरी अगाडि नियुक्त भएकालाई कटौती गर्नु परेमा कारण खोली कटौती गर्न सकिनेछ ।

श्रम ऐनले ट्रेड युनियनसँग अन्यथा सहमति भएकोमा बाहेक सामूहिक सौदाबाजी समिति वा आधिकारिक टे«ड युनियनका पदाधिकारीलाई कटौती गर्दा प्राथमिकता क्रममा अन्तिममा कटौती गर्नु पर्ने सुविधा दिएको छ ।

श्रमिकको सङ्ख्या कटौती गर्दा रोजगारदाताले कम्तीमा एक वर्ष सेवा अवधि पूरा गर्ने श्रमिकलाई निजले सेवा गरेको प्रत्येक वर्षको निमित्त एक महिनाको आधारभूत पारिश्रमिकका दरले हिसाब गर्दा हुन आउने एकमुष्ट रकम क्षतिपूर्ति स्वरुप श्रमिकलाई दिनु पर्नेछ व्यवस्था छ । तर सेवा अवधि एक बर्षभन्दा कम भएमा दामासाहीले क्षतिपूर्ति पाउनेसहितको व्यवस्था श्रम ऐनमा छ ।