ताइवानका विषयमा तनाव बढेपछि जापानले गर्‍यो चिनियाँ राजदूतको आलोचना

161
Shares

एजेन्सी । जापानले सोमबार चिनियाँ राजदूतबाट अत्यन्तै अनुपयुक्त टिप्पणी आएको भन्दै आलोचना गरेको छ ।

चीनले छिमेकी ताइवानमाथि आक्रमण गरेमा जापानले पनि सैनिक कदम चाल्न सक्ने भनी प्रधानमन्त्री सानाए ताकाइचीले बयान दिएपछि उनको आलोचना गर्दै चिनियाँ राजदूतले टिप्पणी गरेका थिए ।

बेइजिङले राजदूतको व्यक्तिगत टिप्पणीको बचाउ गरेको छ । कठोर विचार राख्ने जापानकी प्रधानमन्त्रीसँग बढ्दो वाक्युद्धले दुवै ऐतिहासिक प्रतिस्पर्धीबीच लामो समयपछि आएको स्थायित्व फेरि कमजोर पार्ने संकेत दिएको छ ।

ओसाकास्थित चीनका कन्सुल जनरल शुए जियानले ताकाइचीलाई धम्की दिएको भनी जापानका लागि अमेरिकाका राजदूतले प्रतिक्रिया दिएका छन् । शनिबार सामाजिक सञ्जाल एक्समा शुएले ताइवानबारे ताकाइचीको टिप्पणीसम्बन्धी समाचार लेख सेयर गर्दै फोहरी घाँटी कसैले तेर्स्याएमा त्यसलाई काटिनुपर्छ भनी लेखे । उक्त पोस्ट पछि हटाइएको थियो ।

जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले पोस्टको आशय पूर्ण रूपमा स्पष्ट नभए पनि शुएले धेरैपटक अनुपयुक्त टिप्पणीहरू गरेको छन् र टोकियोले बारम्बार बेइजिङलाई उचित कदम चाल्न आग्रह गरेको बताए ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले सोमबार नियमित पत्रकार सम्मेलनमा शुएको पोस्ट ताइवानका विषयमा ताकाइचीका गलत र खतरनाक टिप्पणीको जवाफ भएको बताए । जापानलाई आफ्नो ऐतिहासिक जिम्मेवारी गम्भीरतापूर्वक विचार गर्न उनले आग्रह गरे ।

चिनियाँ अधिकारीहरूले जापानीहरूका विषयमा गरेका धम्कीपूर्ण टिप्पणीहरूलाई आफ्नो सरकारले गम्भीरतापूर्वक लिएको ताइवानको राष्ट्रपति कार्यालयकी प्रवक्ता करेन कुओले बताइन् । ‘यस्तो व्यवहारले स्पष्ट रूपमा कूटनीतिक मर्यादाको सीमा नाघेको छ,’ उनले थपिन् ।

ताइवानमाथिको कुनै पनि आक्रमणलाई जापानको अस्तित्वलाई खतरा हुने स्थितिका रूपमा व्याख्या गर्न सकिने भनी ताकाइचीले गत शुक्रबार जापानी संसदमा टिप्पणी गरेकी थिइन् । ताइवान जापानी भूमिबाट जम्मा १०० किलोमिटर टाढा छ । यो शब्दावलि सन् २०१५ मा कानूनी रूपमा पारित गरिएको थियो । यसले जापानको प्रधानमन्त्रीलाई देशको डिफेन्स फोर्स परिचालन गर्ने अधिकार दिन्छ ।

अहिलेसम्म कुनै पनि जापानी प्रधानमन्त्रीले ताइवानको नाम लिएर यस्तो सैन्य प्रतिक्रियाको सम्भावनाको चर्चा गरेको थिएन ।
यो कूटनीतिक विवाद ताकाइचीले पदभार ग्रहण गरेको एक महिनाभन्दा कम समयमा आएको हो । यसै महिनाको आरम्भमा सौलमा भएको क्षेत्रीय सम्मेलनमा ताइवानका प्रतिनिधिसँगको बैठकको तस्वीर सार्वजनिक गरेपछि बेइजिङ रिसाएको दुई साताभन्दा कम समयमा यो टिप्प्णी आएको हो ।

त्यस सम्मेलनमा उनले चीनका राष्ट्रपति सी चिनपिङसँग पनि भेट गरेकी थिइन् । दुवै नेताले रचनात्मक र स्थिर सम्बन्ध अघि बढाउने सहमति जनाएका थिए ।

तर, प्रधानमन्त्री बनेपछि उनले पूर्वी एसियामा चीनको सैन्य महत्त्वाकांक्षालाई रोक्ने उद्देश्यले जापानको रक्षा सुदृढीकरण कार्यक्रमलाई तीव्र पार्ने कामलाई प्राथमिकता दिएकी छन् ।