बंगलादेशलाई आधारइलाका बनाएर आतंकवादी हाफिज सईदले भारतमा आक्रमण गर्न लागेको खुलासा

413
Shares

एजेन्सी । पाकिस्तानमा रहेका आतंकवादी समूहहरूले भारतमाथि नयाँ आक्रमणका मोर्चा खोल्ने तयारीमा सक्रिय रहेको र त्यसका लागि बंगलादेशलाई नयाँ आधारइलाकाका रूपमा प्रयोग गर्ने योजना बनाइरहेको खुलासा भएको छ ।

यसको नेतृत्व अन्तर्राष्ट्रिय रूपमा सूचीबद्ध आतंकवादी हाफिज सईदले गरिरहेको बताइएको छ ।

यो खुलासा पाकिस्तानको खैरपुर तामेवालीमा अक्टोबर ३० मा भएको एक र्‍यालीको भिडियोबाट भएको हो । त्यसमा लश्कर–ए–तयबाका वरिष्ठ कमाण्डर सैफुल्लाह सैफले खतरनाक बयान दिएका छन् । ‘हाफिज सईद खाली बसेका छैनन्, उनी बंगलादेशमार्फत भारतमाथि आक्रमणको तयारी गर्दैछन्,’ सैफले खुलेआम भनेका छन् ।

उनका अनुसार, लश्कर–ए–तयबाका सदस्यहरू पहिले नै पूर्व पाकिस्तान (अर्थात् बंगलादेश) मा सक्रिय छन् र भारतलाई अपरेशन सिन्दूरको जवाफ दिने तयारी गरिरहेका छन् ।

हाफिज सईदले आफ्ना निकट सहयोगीलाई बंगलादेश पठाएर स्थानीय युवाहरूलाई ‘जिहाद’ को नाममा कट्टर बनाएको र उनीहरूलाई आतंकवादी प्रशिक्षण दिने कार्यमा लगाइरहेको गोप्य सूचनाले देखाएको छ ।

भिडियोमा सैफले भारतविरुद्ध युद्ध गर्न जनतालाई खुलेआम उक्साएको पनि देखिन्छ । थप चिन्ताजनक रूपमा, उक्त कार्यक्रममा बालबालिकाको उपस्थिति पनि देखिएको छ । आतंकवादी संगठनहरूले कम उमेरका युवाहरूलाई भारतविरुद्धको ‘जिहाद’ को नाममा भड्काउने प्रयास गरिरहेका छन् यसबाट प्रमाणित गर्छ ।

यस प्रकारको उत्तेजक भाषण र बालबालिकाको सहभागिताले पाकिस्तानको भूमिबाट भइरहेको कट्टरपन्थीकरण अर्थात् र्याडिकलाइजेशनको गम्भीर खतरा स्पष्ट देखाउँछ ।

भूराजनीतिक कोणबाट पनि सैफको भनाइ खतरनाक रह्यो । उनले पाकिस्तानी सेनाको झूटो प्रशंसा गर्दै भारतको अपरेशन सिन्दूरपछि सेनाले उचित जवाफ दिएको बताए । साथै, उनले अमेरिका आफूहरूको पक्षमा रहेको र बंगलादेश पनि पाकिस्तानसँग नजिकिँदै गएको बताए ।

यी दाबीहरूलाई विश्लेषकहरूले मनोबल बढाउने र लश्कर–ए–तयबाको नयाँ पूर्वी मोर्चा सक्रिय गर्ने रणनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् ।

स्रोतहरूले जनाएअनुसार, भारतीय सुरक्षा एजेन्सीहरू अहिले बंगलादेश–पाकिस्तानको आतंकवादी सम्बन्धबाट उत्पन्न नयाँ खतराप्रति सतर्क छन् । विशेषगरी, बंगलादेशको बाटो हुँदै घुसपैठ हुन सक्ने भएकाले निगरानी कडा पारिएको छ ।