भारतको सहयोगमा माल्दिभ्सले बनायो हानिमाधू अन्तर्राष्ट्रिय विमानस्थल

455
Shares

एजेन्सी । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारत सरकारको ऋण सहयोग अन्तर्गत निर्माण गरिएको हानिमाधू अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।

उनले यसलाई देशको उत्तरी भागका लागि समृद्धिको ढोका भनेका छन् ।

राष्ट्रपतिले आइतबार विमानस्थलको उद्घाटन गर्दै यसलाई उत्तर माल्दिभ्सको प्रचुर सम्भावनालाई उजागर गर्ने र विश्वव्यापी सम्पर्क बढाउने उत्प्रेरकको रूपमा वर्णन गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

‘यो केवल एक विमानस्थल होइन, यो आर्थिक रूपान्तरणको प्रतीक हो,’ मुइज्जुले बताए ।

नयाँ विमानस्थलले पर्यटन, कृषि, माछापालन, अर्थतन्त्र र सामाजिक विकासमा उत्तरतर्फ थप प्रगति ल्याउने मुइज्जुले बताएका छन् ।

उद्घाटन कार्यक्रममा भारतका नागरिक उड्डयनमन्त्री किन्जरापु राम मोहन नायडु र दुवै देशका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

उक्त अवसरमा मुइज्जुले यो विमानस्थल माल्दिभ्स र भारतबीचको मजबुत सम्बन्धको प्रमाणका रूपमा स्मारक भएको बताए । यसै वर्ष दुई देशले कूटनीतिक सम्बन्धका ६० वर्ष पूरा गर्दैछन् ।

भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा लेख्दै विमानस्थललाई प्रगति र समृद्धिको वास्तविक साधन, र भारतको ‘छिमेकी पहिले’ तथा ‘महासागर भिजन’ अन्तर्गत प्रतिबद्धताको प्रतीक भनेको छ ।

हानिमाधू अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भारतको एक्जिम बैंकद्वारा जारी ८० करोड अमेरिकी डलरको ऋण सुविधाबाट बनिरहेको हो । सन् २०१९ मा माल्दिभ्स सरकार र बैंकबीच यसको सम्झौता भएको थियो ।

भारतको जेएमसी प्रोजेक्ट्स नामक कम्पनीलाई १३ करोड ६६ लाख अमेरिकी डलरमा ठेक्का दिइएको हो । यसले उत्तरका एटोलहरूमा पर्यटन प्रवर्द्धनमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।