टाटाको गाडी बेच्ने सिप्रदीको व्यापार ३०% ले बढ्यो, एकै वर्ष २४ अर्बको कारोबार

147
Shares

काठमाडौं । नेपाली बजारमा टाटा ब्रान्डको सवारी साधन आयात गरी बिक्री वितरण गर्दै आएको सिप्रदी ट्रेडिङको व्यापार ३० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनमा सन् २०२५ मा ३० प्रतिशतले बढेको हो ।

सन् २०२४ मा १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको सिप्रदीले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२३ मा १८ करोड ३० करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

गत आर्थिक वर्षमा व्यापार बढ्नुमा व्यवसायिक सवारी साधनको उच्च बिक्री भएको कम्पनीले रेटिङमा उल्लेख गरेको छ । गत आवमा कम्पनीले गरेको व्यापारमध्ये ६९ प्रतिशत व्यापार व्यवसायिक सवारी साधनबाट भएको छ । साथै, उक्त सवारी साधनको सेग्मेन्टले नेपाली बजारको ६० देखि ६५ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जनाएको छ ।

कम्पनीले पेट्रोलियम पदार्थको सवारी साधनसँगै विद्युतीय सवारी साधनको पनि व्यापार गर्दै आएको छ ।

सन् १९७९ मा स्थापना भएको कम्पनी टाटा ब्रान्डको सवारी साधन आयात तथा बिक्री गर्ने नेपालको लागि आधिकारिक बिक्रेता हो ।

कम्पनीले सन् १९८२ देखि व्यवसायिक सवारी साधन र सन् १९९२ देखि यात्रुवाहक सवारी साधन बिक्री वितरण गर्दै आएको छ । त्यससँगै कम्पनीले सन् २००० देखि एक्साइड ब्याट्री र सन् २००२ देखि मक लुब्रिक्यान्टको व्यापार गर्दै आएको छ ।

कम्पनीको देशभर १४ वटा आफ्नै शोरुम छन् । सिप्रदी ग्रुपद्वारा सञ्चालित कम्पनीले सिप्रदी हायर पर्चेज कम्पनी पनि सञ्चालन गर्दै आएको छ ।

सिद्धार्थ राणा अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि १३ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।