२ महिनापछि पुनः सञ्चालमा चन्द्रगिरि केबलकार, उत्साहपूर्ण उपस्थिति (भिडियो रिपोर्ट)

252
Shares

काठमाडौं । करिब दुई महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार शनिबारबाट पुनः सञ्चालनमा आएको छ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा तोडफोड तथा आगजनी भई बन्द रहेको केबलकार मर्मतपछि शनिबारबाट पुनः सञ्चालनमा आएको हो ।

जेनजी प्रदर्शनका क्रममा केबलकारको मुख्य सञ्चालन युनिट तथा केबलकारको गन्डोला पार्किङ तथा स्टोर युनिट, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, रेस्टुरेन्ट तथा कफिसप, केबलकार टिकट काउन्टर लगायत बटम स्टेसनमा रहेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।

सो कारण सेवा अवरुद्ध भएपछि चन्द्रागिरि हिल्सले अष्ट्रियाली निर्माता कम्पनी डोपलमेयरका प्राविधिक बोलाई आवश्यक मर्मत, सुरक्षा परीक्षण र निरीक्षण पूरा गरी पुनः सञ्चालनमा ल्याएको हो । चन्द्रगिरी हिल्सका कम्पनी सचिब झलक पौडेल जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सम्पूर्ण संरचना निर्माण गरी पुनः सञ्चालनमा आउन सफल भएको बताउँछन् ।

‘केबलकारको मुख्य सञ्चालन युनिट, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, टिकट काउन्टर लगायत बटम स्टेसनमा क्षति पुगेको थियो । तर, हामी करिब ६० दिनपछि त्यसलाई पूर्णरुपमा मर्मत गरेर सञ्चालमा आउन सफल भएका छौं,’ पौडेलले भने, ‘लामो समयपछि केबलकार सञ्चालमा आएकाले सबै आन्तरिक र बाह्य पर्यटक आएर भ्रमण गर्न र रमाउन सक्ने वातावरण बनेको छ भने सबै कुरा पुरानै अवस्थामा फर्किएका छन् ।’

क्षति पुगेका संरचनाहरु पुर्णरुपमा मर्मत भइसकेकाले सबैले निष्फिक्री चन्द्रगिरी केबलकारको आनन्द लिनसक्ने उनको भनाइ छ । कम्पनीका अनुसार चन्द्रागिरि केबलकारसँगै रिसोर्ट पनि सँगै सञ्चालनमा आएको छ भने बुकिङ पनि हुन थालेको छ । करिब दुई महिनापछि शनिबारबाट खुलेको केबलकारमा पहिलो दिन नै मानिसको ठूलो आकर्षण देखिएको छ । सेवा सुचारु भएपछि भालेश्वर महादेव मन्दिर दर्शन गर्न तथा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न पुग्नेहरु उत्साहित देखिएका छन् ।

जेनजी प्रदर्शनका क्रममा मुलुकका महत्त्वपूर्ण सरकारी संरचना, निजी भवन तथा सम्पत्तीमा ठुलो क्षति पुगेको थियो । सोही क्रममा चन्द्रागिरी केबलकारमा पनि भदौ २४ तोडफोडसँगै आगजनी भएको थियो । कम्पनीका अनुसार चन्दगिरी पुनः सञ्चालमा आउनका लागि करिब ४० दिन पूर्णरुपमा मर्मतको काम भएको छ । खासगरी, बीचमा दसैं तिहार जस्ता चाडपर्वले विदाको समय पर्दा पुनः सञ्चालमा आउन थप बढी समय लागेको हो ।

चन्द्रगिरी हिल्सको असिस्टेन्ट मार्केटिङ म्यानेजर सिम्रन शाक्यका अनुसार केबलकार बन्द भएको समयमा पनि धेरैले सोधपुछको काम गर्ने गरेका थिए । सोहीअनुसार केबलकार सञ्चालमा आएको पहिलो दिनमा नै उत्साहपूर्ण मानिसको सहभागिता भएको उनले बताइन् ।

‘पहिलो दिन नै जुन किसिमले मानिसहरुको उपस्थिति भइरहेको छ यो देखि हामी सबै उत्साहित बनेका छौं । यसले हाम्रो मनोबल थप बलियो बनाउन मद्दत गरेको छ,’ शाक्यले भनिन्, ‘सबैको रोजाईमा पर्दै आएको चन्द्रगिरी जेनजी आन्दोलनको क्षतिका बाबजुद खुला भइसकेको छ । सबैले आएर ढुक्क भएर घुम्ने, रमाउने वातावरण बनेको छ ।’ उनले, रिसोर्टसमेत पूर्णरुपमा तयार भएकाले सबैले चन्द्रगिरी आएर रमाउन सक्ने बताइन् ।

शनिबार चन्द्रगिरी हिल्समा पुगेका भक्तजन तथा पर्यटकहरुले पनि केबलकार सञ्चालमा आउँदा निकै खुसी लागेको बताए । चन्द्रगिरी अवलोकन गर्न पुगेका पर्वतका तिलकप्रसाद आचार्यले परिवार सदस्यसँगै भालेश्वर मन्दीरको दर्शन गर्न पाउनु सौभाग्य भएको बताए ।

जेनजी प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ती र संरचनामाथि आगजनी तथा तोडफोड हुनु उचित नभएको भन्दै चन्दगिरी हिल्समा पुगेका कतिपय व्यक्तिहरुले असन्तुष्टिसमेत व्यक्त गरे । लामो पखाईपछि केबलकारमार्फत् चन्द्रगिरीबाट प्रकृतिको मनोरम दृश्य अवलोकन गर्न पाउँदा उत्साहित भएको इंटहरीका कृष्ण परीवारले बताए ।

यस्तै, सेयर लगानीकर्तासमेत रहेका केशव कोइरालाले लामो समय बन्दपछि सञ्चालनमा आएको केबलकारको अवलोकन गरेर सकारात्मक सन्देश दिन पहिलो दिननै आएको बताए । क्षतिपछि पनि उद्योगधन्दा चल्न सक्छन्, ढलेका र आगजनी भएका संरचना पुनः सञ्चालमा आउन सक्छन् भन्ने सन्देश चन्द्रगिरी हिल्सले दिएको भन्दै कोइरालाले चन्द्रगिरी हिल्सलाई धन्यवादसमेत व्यक्त गरे ।

सेवा बन्द हुनु अघि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकले यात्रा गर्दै आएका थिए । अहिले, सेवा पूर्णरुपमा सञ्चालमा आएकाले विश्वस्त भएर भ्रमणमा आउन कम्पनीले आग्रह गरेको छ ।

फोटो/भिडियो: विभुषणकुमार जोशी