रविलाई हटाएर कुलमानलाई नेतृत्वमा नल्याउने रास्वपाको नीति

665
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चित व्यक्तित्वलाई मूल नेतृत्वमा भित्र्याउन नहुने नीति अघि सारेको छ। कुलमान घिसिङ लगायतसँग अनौपचारिक छलफल भए पनि पार्टी नेतृत्वमा आयात स्वीकार्न नसक्ने औपचारिक निर्णय गरेको छ।

पार्टीको सौराहा बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले रास्वपाका सभापति रवि लामिछानेको नेतृत्व निरन्तर राख्ने पक्षमा राजनीतिक प्रतिवेदन पेस गरे । उनले भने, ‘रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व विस्थापित गर्न खोज्ने प्रचार स्वीकार्य छैन। अहिले नेतृत्वलाई स्थापित गर्ने समय हो।’

कुलमान घिसिङ लगायतका व्यक्तिहरुलाई नेतृत्वमा लाउने चर्चाबीच अर्यालले यस्तो धारणा ल्याएका हुन् ।

अर्यालले रिफर्मलाई केवल पद र जिम्मेवारीको हेरफेर होइन, नीति, विधान र मूल्य–मान्यतामा सुधारको रूपमा हेर्नुपर्ने स्पष्ट पारे। उनले आग्रह, व्यक्तिगत महत्वकांक्षा वा पूर्वाग्रहबाट प्रेरित रिफर्मले पार्टीलाई अघि बढाउन नसक्ने चेतावनी दिए।

पार्टीभित्र पद थपघट गर्न चाहने प्रस्तावलाई विधानअनुसार महाधिवेशनको बाटो पर्खनुपर्ने उनले स्मरण गराए। उनले पार्टीको समीक्षा, स्वीकार र पुनर्संरचना प्रक्रियाबाटै रास्वपा अगाडि बढ्ने बताएका छन् ।