स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, यस्ता छन् अरू वित्तीय सूचक

7
Shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिकमा ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा १९.७२ प्रतिशतले घटेको हो ।

बैंकले गत आवको सोही अवधिमा ८६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो । स्ट्यान्डर्ड चार्टर्डको खु्द फि एन्ड कमिसन आम्दानी बढेपनि खुद ब्याज आम्दानी घट्दा तथा नोक्सानी व्यवस्थाका लागि रकम छुट्याउनुपर्दा नाफा घटेको हो । बैंकले ३ महिनामा १ अर्ब ७ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्डले असोज मसान्तमा करिब १८ करोड प्रोभिजन गरेको छ । जबकि गत आवको यही अवधिमा करिब ६ करोड राइट ब्याक गरेको थियो ।

हालसम्म बैंकले १ खर्ब २९ अर्ब ६२ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ७० अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

पहिलो त्रैमासको नाफाबाट बैंकले सेयरधनीलाई ४१ करोड ४७ लाख रूपैयाँ वितरण गर्न सक्ने देखिन्छ ।

असोज असान्तमा बैंकको निष्क्रिय कर्जा १.७१ प्रतिशत छ । गत आवको सोही अवधिमा यस्तो कर्जा १.९५ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी घटेर २७.५७ रुपैयाँ कायम हुँदा प्रतिसेयर नेटवर्थ ६१३ रुपैयाँ, पीई रेसियो २२.२, आरओई १२.५७ प्रतिशत, ब्याजदर स्प्रेड ३.६३ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।