जुत्ता उत्पादन गर्ने सिद्धार्थ ग्रुपको एक्सन पोलिमरले एक वर्षमा कतिको गर्‍यो व्यापार?

84
Shares

काठमाडौं । नेपाली बजारमा विभिन्न प्रकारका फुटवेयर उत्पादन गर्ने एक्सन पोलिमर कम्पनीले एकै वर्ष ३० करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३० करोड रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा २१ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा २६ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा २४ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा २० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले सोल, चप्पल र जुत्ता विभिन्न प्रकारका पोलिमर प्रयोग गरी उत्पादन गर्दै आएको छ । कम्पनीले विशेषगरी भारतबाट कच्चा पदार्थ आयात गरी सोल, चप्पल र जुत्ता उत्पादन गर्दै आएको छ ।

कम्पनीको देशभर ५० वटा डिलर छन् । साथै, कम्पनीले जुत्ता र चप्पलको सोल उत्पादन गरी भारतमा निर्यात गर्दै आएको छ । कम्पनीमा ८ जनाको स्वामित्व छ । जसमा चार जनाको अधिकांश स्वामित्व छ ।

कम्पनीमा प्रदिपकुमार अग्रवालको ३५ प्रतिशत, राजेशकुमार अग्रवालको २५ प्रतिशत, गौरव अग्रवालको २० प्रतिशत र सञ्चित अग्रवालको २० प्रतिशत स्वामित्व छ । बाँकी हिस्सा चार जनासँग १ प्रतिशतभन्दा कम रहेको रेटिङमा उल्लेख छ ।

सिद्धार्थ ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६१ करोड रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४२ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १९ करोड रुपैयाँको रेटिङ गराएको हो ।

Skip This