
काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा माग गरेका छन् । हत्यारा र भ्रष्टाचारीलाई कारबाही नगरेको तर जेनजी आन्दोलनमा संलग्न युवाहरूलाई मात्र कारबाही गरेको आरोप लगाउँदै उनले गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ भन्दै सामाजिक सञ्जालमार्फत् पद त्याग गर्न चेतावनी दिएका हुन् ।
सुधनले ‘हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ शीर्षकको स्टाटसमार्फत् लेखेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएन । देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन्जीलाई कारबाही गर’ भन्ने मात्र सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।’
उनले गृहमन्त्रीलाई सहिदको रगत, नेपाल र नेपालीको आँसु सम्झन आग्रह गर्दै भनेका छन्, ‘काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् । अब दुई महिना हुन लागिसक्यो, न त कुनै भ्रष्टाचारलाई कारबाही भयो न त कुनै हत्यारालाई ।’
सुधनले देशको हितका लागि आवाज उठाउँदा आफूले धेरै आरोप र चरित्र हत्या सहनुपरेको तर पनि मौन बसेको बताएका छन् । उनले लेखेका छन्, ‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्या समेत सहेर बसेँ। कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ किनभने मैले सोचेको थिएँ, कामले देखाउँछ र कामले बोल्छ। अझै पनि देश बन्छ भने करोडौँ अट्याकहरू सहन तयार छु, तर अब तपाईंबाट आशा मरिसकेको छ।’
गृहमन्त्रीको निष्क्रियता र युवाप्रतिको दमनले जनतामा आक्रोश बढेको दाबी गर्दै सुधनले नेपाली जनता र जेनजीका माग सम्बोधन नभए आगामी चुनाव समेत हुन नदिने चेतावनी दिएका छन् ।
‘यो आन्दोलन ८४ को चुनाव ८२ मा सार्नका लागि होइन । नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन,’ सुधनले भनेका छन् ।
आगामी दुई दिनभित्र गृहमन्त्रीले निर्णय नलिए पत्रकारसम्मेलन गरेर नयाँ कदम घोषणा गर्ने उनको चेतावनी छ ।
‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ,’ उनले लेखेका छन् ।








प्रतिक्रिया