खुद ब्याज आम्दानीमा कमी र प्रोभिजन वृद्धिले नबिलको नाफा प्रभावित, ३ महिनामा कमायो १ अर्ब ७५ कराेड

1k
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनि गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा घटेको हो । बैंकले आव २०८१/८२ को असोज मसान्तसम्म २ अर्ब ५ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी नै घट्दा तथा नोक्सानी व्यवस्था बढ्दा बैंकको नाफामा पनि गिरावट आएको देखिन्छ । बैंकले ३ महिनामा ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा करिब ८० करोड रुपैयाँ खुद फि एन्ड कमिसन आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४ अर्ब १४ करोड खुद ब्याज आम्दानी र ७५ करोड रुपैयाँ खुद फि एन्ड कमिसन आम्दानी गरेको थियो । पहिलो त्रैमास अन्त्यमा बैंकले नोक्सानी व्यवस्थाका लागि ६४ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ जुन गत आवको यही अवधिमा गरेको प्रोभिजन ४५ करोड ७७ लाख रुपैयँभन्दा १९ करोड बढी हो ।

खर्चहरु भने सामान्य बढेका छन् ।

नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आवको असोज मसान्तमा २९ रुपैयाँ ८३ पैसा रहेको ईपीएस २५ रुपैयाँ ४९ पैसामा सीमित भएको हो ।

बैंकले ५ खर्ब ५६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ३ महिनामा बैंकले निक्षेप ३२ अर्बले बढाउँदा ९ अर्ब रुपैयाँ बराबरको कर्जा थप गरेको छ ।

ब्याजदर घट्दा बैंकको ब्याज आम्दानी घटेर ९ अर्ब ८० करोडमा सीमित भएको छ । गत आवको असोज मसान्तसम्म बैंकले १० अर्ब ८१ करोड रुपैयाँ ब्याज आम्दानी गरेकामा १ अर्ब रुपैयाँले घटेको हो ।

जेनजी आम्दोलनपछिको परिस्थितिमा बैंकले नोक्सानी व्यवस्था पनि गत आवको तुलनामा बढाउनु परेको देखिन्छ । त्रैमास अन्त्यसम्म बैंकको निष्क्रिय कर्जा अनुपात गत आवको सोही अवधिको तुलनामा सामान्य बढेर ४.३१ प्रतिशत कायम भएको छ । गत आवको असोज मसान्तसम्म यस्तो अनुपात ४.२४ प्रतिशत थियो ।

निष्क्रिय कर्जा बढेपनि प्रोभिजन बढाउँदा खुद निष्क्रिय कर्जा अनुपात भने १.४२ प्रतिशतबाट घटेर ०.९७ प्रतिशतमा सीमित भएको वित्तीय विवरणमा देखिन्छ ।

पहिलो त्रैमास अन्त्यमा बैंकको कोर पुँजी अनुपात घटेर ९.५५ प्रतिशत हुँदा र पुँजीकोष अनुपात सामान्य बढेर १२.६७ प्रतिशत कायम भएको छ ।

७८.१४ प्रतिशत सीडी रेसियो रहेको बैंकको इन्टरेस्ट स्प्रेड ३.५१ प्रतिशत र ३ महिनाको औसत बेसरेट ५.५८ प्रतिशत छ । यसैगरी नेटवर्थ प्रतिसेयर २४० रुपैयाँ ७२ पैसा, रिटर्न अन इक्विटी १०.७० प्रतिशत र पीई रेसियो १९.९७ छ ।

३ महिनामा बैंकको ब्याज बक्यौता बढेको छ भने गैरबैंकिङ सम्पत्ति घटेको छ । फलस्वरुप त्रैमास अन्त्यसम्म बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । पहिलो त्रैमासको मात्र वितणयोग्य नाफा भने ८६ करोड २२ लाख रुपैयाँ छ ।

नबिल बैंकले गत आवसम्मको नाफाबाट लाभांश घोषणा गरिसकेको भने छैन ।