
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन सबै पक्षलाई आत्मसमीक्षासहित नयाँ संकल्पका साथ अघि बढ्न आग्रह गरेका छन् ।
बुधबार काठमाडौँमा आयोजित १० वामपन्थी दलसमूहको संयुक्त एकता सभामा सम्बोधन गर्दै उनले विगतका गल्तीहरूबाट सिक्दै अब कहिल्यै नफुट्ने प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने बताए ।
‘यहाँ आज एकताका लागि जम्मा हुनुभएका सबै घटकहरूलाई भन्न चाहन्छु — अब हामी कहिल्यै फुट्ने छैनौं । यो संकल्पका साथ अघि बढौं,’ उनले भने ।
उनले विगतमा पनि कम्युनिस्ट पार्टीबीच एकता भए तापनि ‘ए र कता बेग्लाबेग्लै’ भएका उदाहरण दिँदै, अब नयाँ सोचका साथ एकताको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरे ।
‘हिजो पनि हामीले एकता गर्यौं, तर ए बेग्लै भयो, कता कता भयो,’ उनले भने, ‘अब नयाँ ढंगले सोच्नुपर्छ, एकअर्कामाथि आरोप प्रत्यारोप नगरी अघि बढ्नुपर्छ।’
खनालले नेतृत्वमा कमजोरी र अनुशासनहीनताका कारण विगतमा आसालाग्दो पार्टीहरू विभाजित भएको उल्लेख गर्दै सबै नेताहरूले आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए । ‘नेतृत्व पंक्तिमा समस्या छ । हिजोका गल्तीहरू सच्याउन सकिएन भने फेरि पनि त्यही अवस्था आउँछ,’ उनले भने ।
उनका अनुसार कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनका लागि विगतका असफलताबाट सिकेर क्रान्तिको नयाँ धार आवश्यक छ । उनले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूको अन्त्यका लागि वामपन्थी एकता अपरिहार्य भएको उल्लेख गरे ।
उनले एकतामा केही विमति भए पनि प्रचण्डसँग कुरा भएको र एकतालाई बलियो बनाउन आएको बताए । ‘म ढिलोगरी आएको हुँ, प्रचण्डसँग कुरा भइसकेको छ,’ उनले भने, ‘केही विमति भए पनि कम्युनिस्ट एकतालाई बलियो बनाउन आएको हुँ।’







प्रतिक्रिया