जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्नेसहित यी हुन् सरकारको निर्णय

224
Shares

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेनजी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको बताए ।

बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोकेको छ ।

खरेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताए ।

विपद् संकटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।