विश्वकप फुटबल फाइनलको एउटा टिकटको मूल्य करिब साढे १६ लाख रुपैयाँ

231
Shares

एजेन्सी । फिफाले बुधबार विश्वकप २०२६ को टिकट बिक्री पुनः खुला गर्दै फाइनल खेलको अधिकतम टिकट मूल्य १० हजार ९ सय ९० अमेरिकी डलर (करिब १६ लाख ३४ हजार नेपाली रुपैयाँ) पुर्याएको छ ।

यो मूल्यवृद्धि यस वर्षको प्रतियोगिताका लागि ४८ वटा टोलीहरूको अन्तिम टुंगो लागेपछि गरिएको हो ।

यसअघि डिसेम्बरमा भएको ड्र पछि फिफाले टिकट बिक्री गर्दा फाइनलको अधिकतम मूल्य ८६ सय ८० डलर तोकिएको थियो । न्यु जर्सीको इस्ट रदरफोर्डस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुने फाइनल खेलका लागि क्याटेगोरी २ को टिकट ५५ सय ७५ डलरबाट बढेर ७३ सय ८० डलर र क्याटेगोरी ३ को टिकट ४१ सय ८५ डलरबाट बढेर ५७ सय ८५ डलर पुगेको छ ।

बुधबार रातिसम्म ७२ वटा समूह चरणका खेलहरूमध्ये केवल १७ वटा खेलका लागि मात्र टिकटहरू सूचीबद्ध गरिएका थिए भने नकआउट चरणका कुनै पनि खेलका टिकटहरू उपलब्ध थिएनन् ।

फुटबलको सर्वोच्च निकाय फिफाले यस प्रतियोगिताका लागि डाइनामिक प्राइसिङ (माग अनुसार मूल्य घटबढ हुने प्रणाली) प्रयोग गरिरहेको छ । यो विश्वकप अमेरिकाका ११ शहर, मेक्सिकोका ३ र क्यानडाका २ शहरहरूमा आयोजना हुनेछ ।

अमेरिकाः जुन १२ मा पाराग्वे विरुद्ध हुने अमेरिकाको पहिलो खेलका लागि २७ सय ३५ डलरका टिकटहरू उपलब्ध छन् । यो मूल्य डिसेम्बरकै बराबर हो ।

मेक्सिकोः जुन ११ मा मेक्सिको सिटीमा हुने मेक्सिको र साउदी अरब बीचको उद्घाटन खेलका लागि २९ सय ८५ डलरका टिकट उपलब्ध छन् । त्यो डिसेम्बरमा २३ सय ५५ डलर थियो ।

क्यानडाः जुन १२ मा टोरन्टोमा हुने क्यानडा र बोस्निया–हर्जगोभिना बीचको पहिलो खेलको टिकट मूल्य २१ सय ७० डलरबाट बढेर २२ सय ४० डलर पुगेको छ ।

टिकट खरिद गर्न चाहनेहरूले फिफाको वेबसाइटमा प्रवेश गर्न घण्टौं कुर्नुपरेको थियो । कतिपय प्रयोगकर्ताहरूले लास्ट मिनेट सेल्स लिंकमा क्लिक गर्दा उनीहरूलाई गलत क्युमा पठाइएको गुनासो गरेका थिए । फिफाले यस्तो प्राविधिक त्रुटिको कुनै ठोस कारण नदिए पनि पछि लिंकहरूले राम्रोसँग काम गरिरहेको बताएको थियो ।

फिफाले अमेरिका, मेक्सिको र क्यानडामा हुने १०४ वटा खेलका बाँकी सबै टिकटहरू एकैपटक बिक्रीमा नराखिएको र थप टिकटहरू चरणबद्ध रूपमा उपलब्ध गराइने जानकारी दिएको छ ।

फिफाको यो महँगो टिकट नीतिको अमेरिकामा आलोचना भएको छ । ६९ जना अमेरिकी कंग्रेस सदस्यहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र लेख्दै डायनामिक प्राइसिङ नीति फिफाको फुटबललाई समावेशी बनाउने लक्ष्य विपरीत रहेको बताएका छन् ।

उनीहरूले यस नीतिले विश्वकपलाई हालसम्मकै सबैभन्दा बढी आर्थिक रूपमा विभेदकारी र पहुँच बाहिरको बनाउने चेतावनी दिएका छन् ।

यसअघि व्यापक जनगुनासो पछि फिफाले सहभागी राष्ट्रका वफादार प्रशंसकहरूका लागि ६० डलरका टिकटहरू उपलब्ध गराउने बताएको थियो जुन प्रति खेल प्रति टिम ४०० देखि ७०० सम्म मात्र हुने सम्भावना छ ।

फिफा अध्यक्ष इन्फान्टिनोले गत जनवरीमा टिकटको माग धेरै रहेको दाबी गरेका थिए । यो एकैपटक १ हजार वर्षको विश्वकपको माग जस्तै रहेको उनको भनाइ छ ।

टिकटको पुनः बिक्री बजारमा पनि फिफाले खरिदकर्ता र बिक्रेता दुवैबाट १५ प्रतिशत शुल्क लिने गरेको छ । इटली, पोल्यान्ड र डेनमार्क जस्ता ठूला टोलीहरू प्रतियोगिताबाट बाहिरिएपछि ती देशका प्रशंसकहरूले पहिले नै किनेका टिकटहरू रिसेल मार्केटमा राख्न सक्नेछन् ।

प्रशंसक समूहहरूले पुनः बिक्री हुने टिकटको बढ्दो मूल्यप्रति चिन्ता व्यक्त गर्दै युरोपेली आयोगमा औपचारिक उजुरी समेत दर्ता गराएका छन् ।