अमेरिकाको दबाबका कारण अर्थतन्त्र संकटमा परेपछि क्युबाले २ हजार बन्दी रिहा गर्ने

245
Shares

एजेन्सी । अमेरिकाको ट्रम्प प्रशासनको बढ्दो दबाबका बीच क्युबा सरकारले २ हजार १० जना कैदीहरूलाई रिहा गर्ने घोषणा गरेको छ । यो वर्षौंयताको सबैभन्दा ठूलो कैदी रिहाइ हो ।

सत्तारूढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका ग्रान्मामा प्रकाशित सूचना अनुसार, कैदीहरूको राम्रो आचरण, स्वास्थ्य अवस्था र उनीहरूले गरेका अपराधको प्रकृतिका आधारमा माफी दिने निर्णय गरिएको हो ।

रिहा गरिने कैदीहरूमा युवा, महिला, ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र विदेशीहरू समावेश छन् । तर, हत्या, यौन दुर्व्यवहार वा अधिकारीहरू विरुद्धको अपराधमा संलग्न कैदीहरूलाई भने माफी दिइएको छैन ।

ह्युमन राइट्स वाचका अनुसार, क्युबाले नियमित रूपमा अभियन्ता, पत्रकार, प्रदर्शनकारी र राजनीतिक विपक्षीहरूलाई लक्षित गरी हिरासतमा राख्ने गर्छ ।

हवानाले यसअघि पनि अन्तर्राष्ट्रिय पक्षहरूसँगको सम्झौताका आधारमा कैदीहरूलाई रिहा गर्ने गरेको थियो । उदाहरणका लागि, सन् २०२५ को सुरुमा बाइडन प्रशासनले प्रतिबन्धहरू खुकुलो पार्ने वाचा गरेपछि अमेरिका र भ्याटिकनसँगको वार्तापछि क्युबाले ५५३ कैदीहरूलाई मुक्त गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पद सम्हालेपछि उक्त सम्झौता रद्द गरिदिए । त्यसकारण क्युबाले केही समयका लागि रिहाइ प्रक्रिया रोकेको थियो जुन पछि मार्चमा मात्र पूरा भयो ।

ग्रान्माको विज्ञप्तिमा क्युबाले अमेरिकाको कुनै उल्लेख गरेको छैन । बरु, इसाई धर्मावलम्बीहरूले ईस्टर मनाइरहँदा पवित्र हप्ताको धार्मिक उत्सवका कारण कैदी रिहा गरिएको दाबी गरेको छ । तर, वास्तवमा ट्रम्प प्रशासनको दबाब अभियानका कारण टापुको अर्थतन्त्र थप धराशायी बन्दै गएको छ ।

यस वर्षको सुरुमा भेनेजुएलामा सैन्य कारबाही र मेक्सिकोमा भन्सार शुल्क लगाउने धम्की दिएर ट्रम्प प्रशासनले क्युबा जाने तेलको प्रवाह रोकिदिएको थियो । टापुलाई महत्त्वपूर्ण राजनीतिक र आर्थिक सुधारका लागि बाध्य पार्न अमेरिकाले यस्तो कदम चालेको हो ।

ट्रम्पले क्युबाको केन्द्रीकृत अर्थतन्त्र ध्वस्त हुनुभन्दा पहिले नै त्यसलाई खुला गर्नुपर्नेमा जोड दिँदै आएका छन् । उनले बारम्बार क्युबा कब्जा गर्नेबारे कुरा गर्ने गरेका छन् । विदेशमन्त्री मार्को रुबियोलगायत ट्रम्पका धेरै राजनीतिक सहयोगीहरू क्युबाको कम्युनिस्ट नेतृत्वलाई हटाउनुपर्ने पक्षमा छन् ।

तेलको अभावका कारण क्युबामा अहिले सवारीसाधन र विद्युत् उत्पादनमा ठूलो समस्या उत्पन्न भएको छ जसले टापुको लामो समयदेखिको ऊर्जा संकटलाई झन् उग्र बनाएको छ ।

टापुमा पहिलेदेखि नै लोडसेडिङ हुने गरेको भए तापनि अहिले अवस्था निकै खराब भएको छ । मार्च महिनामा मात्र क्युबाले एकै हप्तामा दुईपटक देशव्यापी बिजुली बन्दको सामना गर्यो जसकारण १ करोडभन्दा बढी मानिस अँध्यारोमा बस्न बाध्य भए ।

जनजीवन ठप्प भएको छ । धेरै विद्यालयहरूमा कक्षाहरू स्थगित गरिएका छन् । ऊर्जा बचाउन कामदारहरूलाई बेतलबी बिदामा पठाइएको छ र हवाई इन्धनको अभावका कारण लामो दूरीका उडानहरू रद्द भएका छन् ।

यसै हप्ताको सुरुमा ट्रम्पले उनीहरू बाँच्न आवश्यक छ भन्दै रुसी झण्डा भएको तेल ट्यांकरलाई क्युबाली जलक्षेत्रमा प्रवेश गर्न अनुमति दिएका थिए । यद्यपि, ह्वाइट हाउसले यो कुनै नीतिगत परिवर्तन नभएको स्पष्ट पारेको छ ।

सन् १९५९ मा फिडेल क्यास्ट्रोको नेतृत्वमा अमेरिकी समर्थन प्राप्त बाटिस्टा शासनलाई ढालेदेखि नै क्युबा अमेरिकाको कडा आर्थिक नाकाबन्दीमा छ । यसले टापुमा अमेरिकीहरूसँगको व्यापारिक गतिविधि रोक्नुका साथै नयाँ लगानीका लागि कानुनी बाधाहरू खडा गरेको छ ।