रोहितको शतकमा नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

98
Shares

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट शतकीय पारीको नेतृत्वमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिमविरुद्ध २३४ रनको चुनौती प्रस्तुत गरेको छ ।

बिहीबार दुबईमा टस जितेर पहिले ब्याटिङ गर्ने अवसर पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो । कप्तान रोहितकुमारले संयमित खेल्दै सर्वाधिक १०९ रन जोडे । उनले १३० बलमा पाँच चौका र एक छक्का प्रहार गरे । लगातार विकेट जाने क्रममा पनि रोहित अर्को एन्डमा टिके र नेपालको इनिङलाई सन्तुलित बनाए । यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक हो ।

यस उपलब्धिसँगै रोहित नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक बनाउने पहिलो ब्याटर बनेका छन् । उनले सन् २०२२ मार्चमा त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो शतक १२६ रन बनाएका थिए । यो पारी नेपालका ब्याटरले बनाएको व्यक्तिगत उच्च स्कोर पनि हो ।

रोहित बाहेक, ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३५ रन योगदान गरे भने आरिफ सेखले ४२ बलमा दुई चौकासहित २७ रन जोडे । आरिफ र रोहितले चौथो विकेटका लागि ७० रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए ।

दीपेन्द्रसिंह ऐरीले २३ रन थपे भने रोहितले १३१–४ को स्थितिबाट दीपेन्द्रसँग ५४ रनको अर्धशतकीय साझेदारी गरे । करण केसीले आठ बलमा एक चौका र एक छक्का प्रहार गर्दै रन थपे । नेपालका अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् भने अलराउन्डर गुल्सन झा ‘गोल्डेन डक’ भए ।

यूएईका जाहिद अली र जुनैद सिद्दिकीले समान तीन–तीन विकेट लिए भने मोहम्मद रोहिद र हैदर अलीले एक–एक विकेट हात पारे ।

आजको खेलमा नेपालले पहिलो जित खोज्दै मैदानमा छ । यसअघि त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल अमेरिका विरुद्ध १०६ रनले पराजित भएको थियो ।