२१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातले हार्नुपर्‍यो: कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको बताएका छन् ।

उनले भने, ‘५ देखि ३ हजारभन्दा कम मतले हामी पराजित भएका करिब २०/२१ वटा निर्वाचन क्षेत्र छन्, जसमा पार्टीभित्रकै कारण मुख्य जिम्मेवार देखिएको छ ।’

३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी देखिएको उनले बताए । ‘३ हजारदेखि ५ हजार मत फरकमा पराजित हुनुमा क्याम्पेनकै त्रुटी पनि जिम्मेवार हुनसक्छ, हामी त्यसबारे समीक्षा गर्दैछौँ,’ उनले भने ।

५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको उनले बताए ।

उनले भने, ‘कतिपय क्षेत्रमा अन्तर्घात, क्याम्पेनमा समस्या र केही न्यारेटिभका कारण हामी डिफेन्सिभ भयौँ, त्यसलाई प्रभावकारी रूपमा सामना गर्न सकेनौँ ।’

कतिपय क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको काँग्रेसप्रतिको विश्वासमै कमी आएको संकेत देखिएको उनले बताए ।

उनले भने, ‘केही ठाउँमा संगठनात्मक कमजोरी मात्रै होइन, जनताको विश्वासमै प्रश्न उठेको देखिन्छ ।’

८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको विषय गम्भीर बनेको उनले बताए।

उनले भने, ‘८ लाख ५० हजार क्रियाशील सदस्य भएको पार्टीमा एउटा घरमा ४ जना सदस्य हुँदा पनि ठूलो मत आउनुपर्ने थियो, तर हामीले १७ लाख ५९ हजार मत मात्रै किन ल्यायौँ भन्ने प्रश्न उठेको छ ।’

उनका अनुसार पार्टीको सदस्यता निरन्तर बढ्दै जाँदा पनि मत घट्दै जानु चिन्ताजनक भएको छ ।

उनले भने, ‘९ औँ महाधिवेशनमा करिब १ लाख सदस्य रहेका थिए, १४ औँ महाधिवेशनसम्म आइपुग्दा ८ लाख ७० हजार पुगेका छन्, तर मत भने घट्दै गएको छ, यसले हामीलाई चिन्तित बनाएको छ ।’

केन्द्रीय समितिको बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी विषयमा छलफल भइरहेको उनले बताए ।

उनले भने, ‘हामी निर्वाचन समीक्षा र आगामी दिनमा जनताको विश्वास पुनःआर्जन गर्ने विषयमा केन्द्रित भएर छलफल गरिरहेका छौँ । बैठकले काँग्रेसलाई फेरि सशक्त बनाएर जनतामाझ लैजाने कार्यदिशा तय गर्नेछ ।’